नेपालगन्जका दुई स्पा सेन्टरमा प्रहरी छापा, सात किशोरीको उद्धार

नेपालगन्ज । नेपालगन्जमा सञ्चालित दुई स्पा सेन्टरमा प्रहरीले छापा मार्दा सात किशोरीको उद्धार गरेको छ। प्रहरीले स्पा सेन्टर सञ्चालनमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा सञ्चालित आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा ती स्पा सेन्टरमा काममा लगाइएका सात किशोरी फेला परेका थिए।

उद्धार गरिएका किशोरीलाई आवश्यक संरक्षण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले स्पा तथा मसाज सेन्टरका नाममा किशोरी तथा बालबालिकालाई गैरकानुनी वा जोखिमपूर्ण काममा लगाउने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares