भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले आज बिहानैदेखि थप तीव्र बनाएको छ। बाढीबाट ठूलो क्षति पुगेपछि तटीय क्षेत्र तथा प्रभावित बस्तीमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

जोखिममा परेका नागरिकको तत्काल उद्धार तथा राहतका लागि नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सेनाले खाद्यसामग्री, टेन्ट, औषधिलगायत अत्यावश्यक राहत सामग्री वितरण गर्नुका साथै प्रतिकूल मौसम र रातको समयमा समेत स्थलमार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदीका तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप सशक्त बनाइएको छ। बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजीका लागि हेलिकोप्टरसँगै पैदल उद्धार टोलीलाई समेत सक्रिय रूपमा परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सरकारले भोटेकोशी तथा अन्य नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम अझै कायम रहन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न तथा आवश्यक पर्दा तत्काल उद्धार तथा सुरक्षा निकायको सम्पर्कमा आउन सरकारले अनुरोध गरेको छ।

सरकारले प्रभावित नागरिकको जीवनरक्षा, खोजी तथा उद्धार र राहत वितरणलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सबै स्रोतसाधन परिचालन गर्ने जनाएको छ। उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

Facebook Comments Box
TOP
30 Shares