टिमुरेमा आकस्मिक बाढी : सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

रसुवा । रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले बस्ती बगाउँदा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बिओपी) बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्विर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन्।

बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका विभिन्न बस्तीमा क्षति पुर्‍याएको बताइएको छ। बाढीका कारण ड्युटीमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर खत्रीसहित ९ जनासँग सम्पर्क हुन नसकेको स्रोतले जनाएको छ।

टिमुरेस्थित बिओपी भवनमा भने बाढीबाट कुनै क्षति नभएको बुझिएको छ। बिओपीमा कार्यरत ३० जना सुरक्षाकर्मीमध्ये ६ जना बिदामा रहेका छन् भने १५ जना सुरक्षित रहेको स्रोतले जनाएको छ। बाँकी ९ जना ड्युटीका क्रममा सम्पर्कविहीन भएका हुन्।

यसैबीच, घटनास्थलमा खटिएको नेपाल प्रहरीको टोलीसँग पनि सम्पर्क हुन नसकेको बताइएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

बेपत्ता तथा सम्पर्कविहीन सुरक्षाकर्मीहरूको खोजी र उद्धारका लागि प्रयास भइरहेको जनाइएको छ।

Facebook Comments Box
TOP
15 Shares