जनै पूर्णिमामा प्रहरी महानिरीक्षक कार्कीको सन्देश : ‘दुःखमा साथ, विपद्मा सहारा र राष्ट्रका लागि एकता नै सच्चा रक्षाबन्धन’

काठमाडौं । आज जनै पूर्णिमा तथा रक्षाबन्धन। प्रेम, विश्वास, संरक्षण र आत्मीयताको पवित्र सम्बन्धलाई नवीकरण गर्ने यस पर्वका अवसरमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग, सहारा र राष्ट्रसेवाको संकल्प गर्न आह्वान गर्नुभएको छ।
महानिरीक्षक कार्कीले यस वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसर बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नेपाली परिवारका लागि पीडाबीचको पर्व बनेको उल्लेख गर्नुभएको छ। उहाँले प्रियजन गुमाएका, घरबारविहीन भएका तथा अझै आफ्ना आफन्तको खोजीमा रहेका परिवारको पीडामा सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताउनुभएको छ।
‘कतिपय हातमा आज रक्षाको पवित्र धागो बाँधिँदैछ, तर कतिपय हात प्रियजनको अभावमा खाली छन्,’ उहाँले भन्नुभएको छ, ‘यही पीडाको घडीमा रक्षाबन्धनको अर्थ अझ गहिरो बनेको छ।’
उहाँका अनुसार नेपाल प्रहरीका लागि जनताको सुरक्षा केवल नियमित कर्तव्य नभई राष्ट्रसेवाको सर्वोच्च दायित्व हो। विपद्को कठिन समयमा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमार्फत प्रभावित नागरिकको साथमा रहनु प्रहरीको प्रतिबद्धता रहेको उहाँले स्पष्ट पार्नुभएको छ।
महानिरीक्षक कार्कीले रक्षाबन्धनको वास्तविक अर्थ पारिवारिक सम्बन्धमा मात्र सीमित नराखी अप्ठ्यारोमा परेका हरेक नेपालीप्रति मानवीय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले यस पवित्र अवसरमा दुःखमा परेका नागरिकको पीडामा साथ दिने, विपद्मा सहारा बन्ने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने संकल्प गर्न सबैमा आग्रह गर्नुभएको छ।
‘दुःखमा साथ, विपद्मा सहारा र राष्ट्रका लागि एकता—यही हो हाम्रो सच्चा रक्षाबन्धन,’ महानिरीक्षक कार्कीको सन्देशमा भनिएको छ।

Facebook Comments Box
TOP
15 Shares