रसुवा बाढीमा कोशीका १३० जना अझै सम्पर्कविहीन, ८ जना सम्पर्कमा आए

विराटनगर । रसुवामा गएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका १३० जना व्यक्ति अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिमध्ये ८ जना भने सम्पर्कमा आइसकेका छन्। बाँकी १३० जनाको खोजी तथा अवस्था पहिचानका लागि सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेका छन्।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सोलुखुम्बुबाट ३८ जना सम्पर्कविहीन छन्। त्यस्तै सुनसरीबाट १७, मोरङबाट १४, उदयपुरबाट १३, ओखलढुंगाबाट १२, इलामबाट ९, झापाबाट ८, खोटाङबाट ८, ताप्लेजुङबाट ६, संखुवासभाबाट ३, धनकुटाबाट १ र भोजपुरबाट १ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशका पाँचथर र तेह्रथुमबाट भने हालसम्म सम्पर्कविहीन व्यक्तिको कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवा बाढीमा सम्पर्कविहीन हुनेमा अधिकांश रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका र धार्मिक तीर्थाटनका लागि गएका व्यक्ति रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय र स्थानीय प्रशासनले रसुवा बाढीका कारण आफ्ना आफन्त सम्पर्कविहीन भएको जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रशासन कार्यालयमा तत्काल सूचना दिन सार्वजनिक अपिल गरेका छन्। साथै, सम्पर्कमा आएका व्यक्तिबारे समेत सम्बन्धित परिवार तथा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares