पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको तीव्र भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भेलले बगाएपछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई गण्डकी मेडिकल कलेज पुर्‍याएका थिए। उपचारका क्रममा सुष्माको शुक्रबार राति र छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको हो।

स्थानीय कमल दाहाल श्रीमती सुष्मा र छोरी रानीकालाई स्कुटरमा लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। हर्कचोक पुगेपछि भारी वर्षाका कारण सडकमा भेल बढेकाले उनले स्कुटर रोकेका थिए।

स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई तीव्र भेलले बगाएर सडकको नालीमा पुर्‍याएको थियो। छोरीलाई बचाउने प्रयास गर्दा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन्। त्यसपछि भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो।

श्रीमती र छोरी भेलमा बगेपछि कमलले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरी तत्काल उद्धारमा जुटेका थिए। खोजीका क्रममा आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो।

भारी वर्षापछि आएको आकस्मिक बाढी र तीव्र भेलका कारण पोखरामा भएको यो घटनाले वर्षायाममा सडक तथा नाली आसपास आवतजावत गर्दा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखाएको छ।

Facebook Comments Box
TOP
15 Shares