भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा पुनः बाढीको जोखिम बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल भोटेकोशी र त्रिशूली नदीको जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र त्यसबाट जोखिम उत्पन्न भएको हो।
महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको ताल क्रमशः बढ्दै गएको जानकारी दिए।
उनका अनुसार उक्त ताल फुटेमा ठूलो परिमाणमा पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ।
“नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ। ताल फुटेमा फेरि पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्छ,” पराजुलीले भने।
हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। बाढीको खतरा बढेको अवस्थामा महाशाखाले तत्काल पूर्वसूचना जारी गर्ने जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्तिहरूलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्मी तथा सर्वसाधारणलाई नदीको जलसतहमा हुने परिवर्तन र महाशाखाबाट जारी हुने पूर्वसूचनामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares