

गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै व्यङ्ग्य र प्रहसनको पर्व

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने तथा सामाजिक विकृति र विसङ्गतिमाथि हास्यव्यङ्ग्यमार्फत प्रहार गर्ने गरिन्छ।
गाईजात्राका अवसरमा दिवङ्गत व्यक्तिका आफन्तले गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने परम्परा छ। परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने गर्छन्। यसरी गाईको नगरपरिक्रमा गराउँदा दिवङ्गत आत्माले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ।
गाईजात्रा सुरु हुनुको ऐतिहासिक सम्बन्ध तत्कालीन राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्रशोकमा डुबेकी रानीलाई संसारमा शोक र मृत्यु सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको ऐतिहासिक मान्यता छ। रानीको मन शान्त नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्पराको विकास भएको जनश्रुति पाइन्छ।
गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद (राजदरबार) भएर गाईजात्रा लैजानुपर्ने परम्परा अहिले पनि कायम छ। काठमाडौं उपत्यकामा विशेष रौनकका साथ मनाइने यो पर्वका क्रममा प्रहसन, नाचगान, सामाजिक विकृति तथा विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
पर्वका क्रममा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतसमेत गाउने परम्परा छ। यसले गाईजात्रालाई धार्मिक आस्था, पारिवारिक स्मृति, संस्कृति र सामाजिक चेतनाको अद्वितीय संगमका रूपमा स्थापित गरेको छ।
काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायत नेवार समुदायको उल्लेख्य उपस्थिति रहेका शहरमा पनि गाईजात्रा धुमधामका साथ मनाइन्छ।
गाईजात्राको अर्को महत्वपूर्ण विशेषता यसको हाँस्यव्यङ्ग्य परम्परा हो। यस अवसरमा हास्य कलाकार तथा विभिन्न सांस्कृतिक समूहले विशेष कार्यक्रम आयोजना गरी समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमाथि व्यङ्ग्य प्रस्तुत गर्ने गर्छन्। यसरी गाईजात्राले एकातर्फ दिवङ्गत आफन्तको सम्झनामा शोक व्यक्त गर्ने अवसर प्रदान गर्छ भने अर्कोतर्फ समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्दै सुधारका लागि सन्देशसमेत दिने गरेको छ।
भाद्र कृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा नेपाली समाजको बहुजातीय, बहुसांस्कृतिक परम्परा र काठमाडौं उपत्यकाको नेवार सभ्यताको जीवन्त पहिचानका रूपमा रहँदै आएको छ।
समाज
थप सामाग्री-
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
-
गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै व्यङ्ग्य र प्रहसनको पर्व
-
बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
-
रसुवा बाढीपछि सम्पर्कविहीन इन्स्पेक्टर यादव सकुशल, उद्धारमै खटिँदै
-
बाढी प्रभावित तीन जिल्लाका एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालनमा
रसुवा बाढीमा कोशीका १३० जना अझै सम्पर्कविहीन, ८ जना सम्पर्कमा आए
२३ घण्टा अगाडि
1.0kViews 15 Shares Share on Facebook Share on Twitter विराटनगर । रसुवामा गएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट…





