

रसुवा बाढीपीडितका लागि राहत कोषमा एकै दिन ३८ करोडभन्दा बढी सहयोग

काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम तीव्र भएको छ। पछिल्लो ३६ घण्टामा मात्रै कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम जम्मा भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो। नेपाल–चीन सीमा क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै राहत तथा उद्धारका लागि स्वस्फूर्त सहयोग जुट्न थालेको हो।
यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो।
यसैबीच, शुक्रबार मात्रै विभिन्न २७ संस्था तथा व्यक्तिबाट ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।
सूर्य नेपालदेखि बैंक तथा उद्योगी व्यवसायीसम्मको सहयोग
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत राहत कोषका लागि विभिन्न संस्था तथा व्यक्तिले उल्लेख्य रकम हस्तान्तरण गरेका छन्।
सबैभन्दा ठूलो सहयोग सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ प्रदान गरेको छ। त्यस्तै, प्राइम बैंकले तीन करोड १० लाख, कृषि विकास बैंकले तीन करोड, नेपाल लाइफ इन्स्योरेन्सले दुई करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।
हिमालयन बुलियन कम्पनीले एक करोड एक लाख, एग्रो थाई फुड्सले एक करोड, एसियन लाइफ इन्स्योरेन्सले एक करोड एक लाख तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन्।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले एक करोड तथा राजी राणाले व्यक्तिगत रूपमा एक करोड नौ लाख ८० हजार रुपैयाँ योगदान गरेका छन्।
त्यस्तै, डब्लुडब्लुएफ नेपालले एक करोड, मोरङ अटो वर्क्सले एक करोड ११ लाख, जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभले एक करोड तथा सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषमा प्रदान गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्। नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, अबाकस इन्साइट्सले १५ लाख तथा अन्य संस्था र व्यक्तिहरूले समेत कोषमा सहयोग गरेका छन्।
निजी क्षेत्रको सहयोग निरन्तर
यसअघि बिहीबार मात्रै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश छैन।
सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयंमार्फत स्वीकार गर्दै आएका छन्।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य संयन्त्रसँगै निजी क्षेत्र, उद्योगी–व्यवसायी र विभिन्न संघसंस्थाले ठूलो मात्रामा आर्थिक सहयोग अघि बढाएका छन्। संकटको घडीमा जुटेको यो सहयोगले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहत अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
-
गाईजात्रा आज, दिवङ्गत आफन्तको सम्झनासँगै व्यङ्ग्य र प्रहसनको पर्व
-
बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
-
रसुवा बाढीपछि सम्पर्कविहीन इन्स्पेक्टर यादव सकुशल, उद्धारमै खटिँदै
-
बाढी प्रभावित तीन जिल्लाका एनसेलका १४ मोबाइल टावर पुनः सञ्चालनमा
रसुवा बाढीमा कोशीका १३० जना अझै सम्पर्कविहीन, ८ जना सम्पर्कमा आए
२३ घण्टा अगाडि
1.0kViews 15 Shares Share on Facebook Share on Twitter विराटनगर । रसुवामा गएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट…





