रसुवाको बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड रुपैयाँ निकासा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो।
प्राधिकरणका अनुसार निकासा गरिएको रकम प्रभावित स्थानीय तहलाई भएको क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ। बाढीबाट अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका रूपमा वर्गीकरण गरी सोहीअनुसार अनुदान तथा राहत सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा उपलब्ध रकममध्ये उक्त रकम तत्काल निकासा गर्ने निर्णय गरेको थियो।
बाढीबाट प्रभावित स्थानीय तहमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ गाउँपालिका; नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका; धादिङका बेनीघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका; गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका रहेका छन्।
प्राधिकरणका अनुसार यी स्थानीय तहमा भएको क्षतिको आधारमा अनुदान रकम वितरण गरिनेछ। तत्काल राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई उपलब्ध गराइनेछ।
कार्यकारी समितिको निर्णयअनुसार केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उक्त स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम तत्काल राहतस्वरूप रकम उपलब्ध गराइनेछ। सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सरकारले उक्त रकम निकासा गरेको हो।

Facebook Comments Box
TOP
15 Shares