भोटेकोसीमा बहाव बढ्यो, रसुवा–नुवाकोट–धादिङमा तत्काल ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बाढीको बहाव बढे पनि तत्काल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ५ः४५ बजे जारी गरेको पछिल्लो सूचनामा जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त विवरणअनुसार भोटेकोसी नदीको बहाव बढेको जनाएको हो।

भोटेकोसीमा बहाव बढेसँगै नुवाकोट क्षेत्रमा पनि नदीको सतह केही बढेको महाशाखाले जनाएको छ। यद्यपि हाल बाढीको अवस्था ठूलो नरहेको र नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको आकलन छ।

महाशाखाले जारी गरेको अलर्टमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार हाल नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउँदछौँ।’

भोटेकोसी क्षेत्रमा पछिल्लो समय बाढीको जोखिम उच्च रहँदै आएको भन्दै महाशाखाले नदीको बहावमा भइरहेको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

महाशाखाले नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान तथा मौसम, नदीको बहाव र बाढीसम्बन्धी पछिल्ला सूचना तथा चेतावनीमा नियमित ध्यान दिन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
15 Shares