खुर्कोटमा सुनकोशी नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च जोखिम

सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह सतर्कता तह पार गरेको छ। अविरल वर्षाका कारण नदीको बहाव निरन्तर बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आइतबार बिहान ६ः५० बजे खुर्कोट जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतह ७.६९ मिटर पुगेको छ। उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ।

जलसतह सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय तथा होचा भूभागमा डुबान र कटानको जोखिम बढेको महाशाखाले जनाएको छ। नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी आसपासका बासिन्दालाई नदीको किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

वर्षा जारी रहेकाले सुनकोशीको जलसतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई समेत सतर्क रहन आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares