गुप्तचर हाकिमको साडीदेखि गाडीसम्मको व्यापार, हैरानी भोग्दै साझेदार

काठमाडौं । सरकारी कर्मचारीले व्यापार व्यवसायमा संलग्न हुन नपाइने कानुनी व्यवस्था छ । तर, प्रधानमन्त्रीकै मातहमतमा रहेको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द विभिन्न व्यापारिक कारोबारमा प्रत्यक्ष सहभागी हुँदा उनका साझेदारहरु मारमा परेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागको सञ्चालन र व्यवस्थापन गर्ने नेपाल विशेष सेवा ऐन २०४२ र नेपाल विशेष सेवा नियमावली, २०४४ ले गरेको व्यवस्थाअनुसार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले कार्यालयको अनुमति नलिई कुनै पनि नाफामुलक काममा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । उक्त ऐन, नियमावली र कार्यविधिका कुनै पनि बुँदाबमोजिम चन्दले त्यस्तो कामको अनुमति नपाएको अनुसन्धान विभागस्रोतले जनाएको छ । तर, उनको व्यवसायिक सक्रियता भने कायमै छ ।

उप अनुसन्धान निर्देशक चन्द र उनकी पत्नी मोतिना चन्दसमेतको साझेदारी रहेको बिटुमिन सप्लायर्सबाट अर्की साझेदार हिरा राणाले लगानी रकमको साबा व्याज फिर्ता माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर कीर्ते मुद्दाबाट उक्त भेद खुलेको हो । २०८० असार २७ मा अदालतले राणाबाहेकका अन्य साझेदारका जग्गा रोक्का राख्न सम्बन्धित मालपोत कार्यालय (भूमि प्रशासन) लाई आदेश दिएको छ । त्यसमा चन्द, उनकी पत्नीसहित लक्ष्मणप्रसाद अर्यालको समेत जग्गा रोक्का छ ।

बिटुमिन सप्लायर्समा चन्दकी पत्नी मोतिनाको नाममा ४० हजार कित्ता शेयर रहेको कागजात नेपाल प्रेसले अदालतस्रोतबाट प्राप्त गरेको छ । त्यसमा निवेदक राणाको एक लाख प्रतिशत कित्ता र अर्का साझेदार अर्यालको एक लाख ६० हजार कित्ता शेयर छ ।

जग्गा रोक्का प्रकरणबाट पीडित बन्नेमा अर्याल परेका छन् । उनको चितवन जिल्लास्थित साविक नारायण गाविस– ८ का ४ कित्ता र साविक मंगलपुर– ३ को एक कित्ता जग्गा रोक्का छ । उप अनुसन्धान निर्देशक चन्दको नाममा रहेको स्याङ्जा जिल्लाको साविक राम्जाकोट गाविस– ४ का तीन कित्ता, धनुषा जिल्लाको धनुषा नगरपालिका– १ को एक कित्ता जग्गा रोक्का छ । सोही रोक्काअन्तर्गत उनकी पत्नी मोतिनाको नाममा रहेको काठमाडौं महानगरपालिका– १० को एक कित्ता जग्गा पनि छ ।

यसमध्ये अर्याल जग्गा रोक्काबाट मात्रै पीडित भएनन्, विभिन्न प्रशासनिक र कानुनको झमेलामा पनि परे । अनुसन्धानका एसपी चन्दकै कारण आफू पीडित भएको उनको भनाइ छ ।

व्यवसाय साझेदारीका क्रममा हैरानी व्यहोरेपछि अर्यालले ब्ल्याक बुल मल्टिप्रपोजमा रहेको शतप्रतिशत शेयर चन्दलाई नै छाडिदिएका छन् । उक्त कम्पनीमा चन्दको ८० हजार कित्ता र अर्यालको एक लाख २० हजार कित्ता शेयर थियो । त्यही कम्पनीले भारतको अजमेरा फेसन लिमिटेडसँगको साझेदारी र ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको नाममा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा साडीको व्यापार गर्दै आएको छ । अगाडि देखिँदा पत्नी देखिन्छिन् । तर, सम्पूर्ण कारोबारमा उनी प्रत्यक्ष संलग्न छन् ।
उनले ललितपुर, बालकुमारीमा जेभी अटो मोबाइल्स सञ्चालन गरेका छन् । पत्नी मोतिनाको नाममा ९० हजार कित्ता शेयर रहेको उक्त कम्पनीले टाटा मोटर्सका गाडीको थोक विक्रेताका रुपमा काम गर्दछ ।

उप अनुसन्धान निर्देशक चन्दले अर्यालसहितका आफ्ना साझेदारविरुद्ध काठमाडौं जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेका छन् । यसअघि उनले अञ्जु पन्थसहितका साझेदारको तर्फबाट बारा जिल्ला अदालतमा कीर्ते, ठगी र बैंकिङ कसुर झेल्नुपरेको थियो । बिटुमिन कम्पनीको खाता सञ्चालक एकलौटी बनाउनका निम्ति उनले फोटोसपको प्रयोग गरी एकल हस्ताक्षर चल्ने बनाएका थिए । त्यसविरुद्ध साझेदारहरु उक्त मुद्दामा गएका थिए । बारामा उनले अदालत ‘मिलाएर’ सोही मुद्दा चितवन जिल्ला अदालत लगे । बाराबाट चितवन जिल्ला अदालत पुगेको केही दिनमै दावी नपुग्ने भनी मुद्दालाई आफ्नो पक्षमा पारे। त्यसको पूर्णपाठ आउन बाँकी छ ।

अहिले पनि काठमाडौं जिल्ला अदालतमा बिटुमिन सप्लायर्सकी साझेदार हिरा राणाका तर्फबाट शेयर फिर्तासँगै कीर्ते मुद्दा चलिरहेको छ । उक्त मुद्दामा उप अनुसन्धान निर्देशक चन्दसमेत प्रतिवादी बनाइएका छन् । उनले आफूविरुद्ध मुद्दा हाल्ने साझेदारलाई विभिन्न किसिमबाट मानसिक तनाव दिने गरेको एक साझेदारले बताए । त्यसरी दुःख दिने नियतले नै काठमाडौं जिल्ला अदालतमा साझेदारका विरुद्ध २०८० सालमा कीर्ते मुद्दा दायर गरेका थिए । विपक्षी बनाइएका साझेदारहरुले जिल्लादेखि उच्च अदालतसम्मबाट मुद्दा जितिसकेका छन् । अहिले फेरि साझेदारमध्येका अर्यालको नाममा जिल्ला प्रहरी परिसर काठमाडौंमा अन्य साझेदारविरुद्ध निवेदन हाल्न लगाएका छन् । उक्त निवेदनमा चार वर्षअघि लेखा परीक्षणसमेत भएर कारोबार राफसाफ भएको विषयमा आफ्नो बाँकी बक्यौता दावी गरिएको थियो । यद्यपि, उक्त निवेदन फिर्ता भइसकेको छ ।

व्यापारिक कारोबारमा गुप्तचर अधिकृत चन्दको प्रत्यक्ष संलग्नतालाई हरेक मुद्दा र कारोबार विवरणले पुष्टि गर्दछ । अदालतका मुद्दाका कागजात बाहेक नेपाल प्रेसले बिटुमिन प्रालि, सञ्चालक समिति बैठकको निर्णय पुस्तिका (माइन्युट) प्राप्त गरेको छ । त्यसमा चन्दले आमन्त्रित सदस्यका रुपमा सहभागी भई हस्ताक्षरसमेत गरेका छन् ।
उक्त माइन्युटमा २०८० जेठ १ गतेदेखि लागु हुने गरी प्रवन्ध निर्देशक शंकर घिमिरे र बित्त प्रमुख चन्द्रलाल श्रेष्ठलाई सो भूमिकाबाट मुक्त गरी उक्त भूमिकामा क्रमशः चन्दकी पत्नी मोतिना र लक्ष्मणप्रसाद अर्याललाई जिम्मेवारी दिने निर्णय भएको छ ।

नेपाल प्रेसबाट साभार

Facebook Comments Box
TOP
15 Shares