लागूऔषध प्रकरणमा मुछिएको संघाई समूहको नयाँ धन्दा ? इनर्जी ड्रिंकको कारोबारमाथि गम्भीर प्रश्न

काठमाडौं । एक दशकअघि लागूऔषध कारोबारको गम्भीर आरोपमा अनुसन्धानको घेरामा परेको संघाई समूह अहिले फेरि विवादको केन्द्रमा आएको छ। विगतमा लागूऔषध बनाउन प्रयोग हुने रसायनको कारोबारसँग जोडिएको आरोप खेपेको यही समूहसँग सम्बन्धित कम्पनीले अहिले सर्वसाधारण, विशेषगरी बालबालिका र किशोर–किशोरीले सेवन गर्ने इनर्जी ड्रिंक उत्पादन तथा बिक्री गरिरहेको तथ्य सार्वजनिक भएपछि यसको व्यावसायिक गतिविधिमाथि गम्भीर प्रश्न उठेको छ।

करिब १० वर्षअघि नेपाल प्रहरीले लागूऔषध तस्करीविरुद्ध चलाएको ‘अपरेसन स्युडो’ का क्रममा संघाई समूहका मुख्य कारोबारी रतनलाल संघाई पक्राउ परेका थिए। प्रहरीले आर्या फर्मामार्फत लागूऔषध कारोबार भइरहेको सूचना पाएपछि रतनसँगै उनका भाइ पवन संघाईमाथिसमेत अनुसन्धान अघि बढाएको थियो। त्यसबेला पवन भारतमा लुकेर बसेको प्रहरीको दाबी थियो।

पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई समूहको प्लास्टिक उद्योगबाट लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध बनाउन प्रयोग हुनसक्ने रसायन बरामद गरेको थियो। प्रहरी अनुसन्धानअनुसार उक्त रसायनबाट ठूलो परिमाणमा एमफेटामाइन बनाउन सकिने आकलन गरिएको थियो। औषधि उद्योगका नाममा आयात गरिएको रसायन चीन, भारतलगायतका मुलुकतर्फ पठाउने गरिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ थियो।

उक्त प्रकरणपछि संघाई समूहको व्यावसायिक छविमाथि गम्भीर धक्का लागेको थियो। उनीहरूको सम्पत्ति लिलामीमा राखिएको र बैंकिङ कारोबारसमेत रोक्का गरिएको विवरण सार्वजनिक भएका थिए।

तर, पुरानो विवाद सेलाउन नपाउँदै यही समूहसँग सम्बन्धित कम्पनी नयाँ व्यापारिक नाम र नयाँ उत्पादनसहित बजारमा सक्रिय भएको आरोप लागेको छ। संघाई समूहअन्तर्गतको भनिएको एग्रो थाइफुडमार्फत ‘एक्सट्रिम इनर्जी ड्रिंक’ र ‘म्याक्स टाइगर’ लगायतका पेय पदार्थ बजारमा बिक्री भइरहेको बताइएको छ।

सबैभन्दा गम्भीर प्रश्न के छ भने यस्ता पेय पदार्थमा प्रयोग हुने रासायनिक संरक्षक, क्याफिनको मात्रा तथा उत्पादनको गुणस्तरलाई लिएर उठेको छ। विभिन्न रिपोर्टमा बेन्जोइक एसिड, सोर्बिक एसिड तथा उच्च क्याफिनको प्रयोगबारे प्रश्न उठाइएको छ। वयस्कका लागि निश्चित सीमाभित्र प्रयोग गर्न मिल्ने कुनै पदार्थ बालबालिका तथा किशोर–किशोरीका लागि समान रूपमा सुरक्षित हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने भएकाले सम्बन्धित नियामक निकायले यसको वैज्ञानिक परीक्षण र सार्वजनिक जानकारी दिनुपर्ने आवश्यकता देखिन्छ।

विशेषगरी उच्च क्याफिनयुक्त इनर्जी ड्रिंकको नियमित वा अत्यधिक सेवनले बालबालिका तथा किशोर–किशोरीको निद्रा, स्नायु प्रणाली तथा मुटुसम्बन्धी स्वास्थ्यमा असर पार्न सक्ने चिकित्सकीय चिन्ता रहँदै आएको छ। त्यसैले यस्ता उत्पादनको विज्ञापन, बिक्री र लक्षित उपभोक्ताबारे नियामक निकायले गम्भीर निगरानी गर्नुपर्ने देखिन्छ।

यसैबीच, ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नियमित सेवन गरेका एक किशोरले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आएको र आफूले अत्यधिक इनर्जी ड्रिंक सेवन गरेको बताएका छन्। उनले अस्पतालको शय्याबाटै आफ्नो मिर्गौलामा समस्या देखिनुको कारण इनर्जी ड्रिंकको सेवन भएको दाबी गरेका छन्।

अझ गम्भीर प्रश्न कम्पनीको पारदर्शितामाथि उठेको छ। बजारमा व्यापक प्रचार भइरहेका उत्पादनको वास्तविक सञ्चालक, उत्पादन प्रक्रिया, प्रयोग हुने कच्चा पदार्थ, प्रयोगशाला परीक्षण तथा स्वास्थ्यसम्बन्धी मापदण्डबारे उपभोक्ताले पर्याप्त जानकारी पाएका छन् कि छैनन् भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।

यस विषयमा कम्पनीका प्रतिनिधि पवन श्रेष्ठसँग प्रतिक्रिया लिन खोजिए पनि लिखित रूपमा जानकारी उपलब्ध गराउन आग्रह गर्दा उनले कुनै प्रतिक्रिया नदिएको दाबी गरिएको छ। सम्बन्धित कम्पनी वा संघाई परिवारले सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ दिनुपर्ने देखिन्छ।

यससँगै संघाई परिवारले विगतका विवाद र वर्तमान व्यापारिक गतिविधिबारे सञ्चारमाध्यममा आफ्नो पक्ष स्पष्ट पार्नुपर्ने आवश्यकता पनि देखिएको छ। केही पत्रकार तथा  संघाइ दाजुभाइले सञ्चारमाध्यमका सञ्चालकसँग निकट सम्बन्ध राखेर आफ्नो व्यवसायसम्बन्धी आलोचनात्मक विषय दबाउने वा छोप्ने प्रयास भएको भन्ने आरोपसमेत सार्वजनिक भएको छ।

प्रश्न सीधा छ ,विगतमा लागूऔषध कारोबारका लागि प्रयोग भएको भनिएको रसायन प्रकरणबाट विवादमा परेको समूहले अहिले उत्पादन गरिरहेको पेय पदार्थ वास्तवमै कति सुरक्षित छ ? त्यसको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्मको वैज्ञानिक परीक्षण भएको छ कि छैन ? बालबालिका र किशोर–किशोरीलाई लक्षित गरेर यसको बजार विस्तार भइरहेको छ कि छैन ? र नियामक निकायले यसको प्रभावकारी अनुगमन गरिरहेको छ कि छैन ?

यी प्रश्नको जवाफ अब संघाई समूहले मात्र होइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण निकाय र स्वास्थ्यसम्बन्धी नियामक निकायले समेत दिनुपर्ने अवस्था आएको छ।

विगतको विवादको छायाबाट उम्किन कम्पनीको नाम वा व्यापारिक ब्रान्ड परिवर्तन मात्र पर्याप्त हुँदैन। उपभोक्ताको स्वास्थ्यसँग जोडिएको व्यापारमा पारदर्शिता, वैज्ञानिक परीक्षण र कानुनी जवाफदेहिता अनिवार्य हुन्छ।

संघाई परिवारमाथि उठेका पुराना आरोप र अहिलेको इनर्जी ड्रिंक कारोबारबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयसमेत निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ। काठमाडौं उपत्यकामा च्याउसरी सार्वजनिक भएका गुपचुप पत्रिकालाइ विज्ञापन दिनु र अरु मिडिया सामु आफ्नो गल्ती ढाकछोप गर्न लगाउन संघाइ दाजुभाइले ठुलै आर्थिक नजरना खर्चिएको सोर्तको दाबी छ।

Facebook Comments Box
TOP
15 Shares