प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी प्रतिबद्ध : केन्द्रीय प्रवक्ता काफ्ले

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरी सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोको टोलीले तीन जना पत्रकारलाई पक्राउ गर्नुका साथै विभिन्न मिडिया हाउसको न्यूजरुममा प्रवेश गरेको घटनापछि नेपाल प्रहरीको आलोचना भएको थियो। प्रहरीले नियन्त्रणमा लिएका तीनै जना पत्रकारलाई पछि रिहा गरिसकेको छ।

पत्रकार पक्राउ गर्नुको कारण तथा सञ्चारमाध्यमको न्यूजरुमसम्म प्रहरी पुग्नुको औचित्यबारे स्पष्ट जानकारी नआएको भन्दै प्रश्न उठिरहेका बेला प्रवक्ता काफ्लेले पछिल्लो समय प्रकाशित समाचारका विषयमा तथ्य बुझ्न र छलफल गर्न पत्रकारहरूलाई बोलाइएको बताएका छन्।

पछिल्लो समय प्रकाशित समाचारका कारण नेपाल प्रहरीको व्यावसायिकता, संगठनका विभिन्न तहका कर्मचारीको कार्यसम्पादन तथा सरकार र प्रहरी संगठनबीचको सम्बन्धबारे नकारात्मक धारणा सिर्जना हुन सक्ने अवस्था देखिएको बताए। यस विषयमा प्रधानमन्त्री कार्यालयको समेत चासो र ध्यानाकर्षण भएको उनको भनाइ छ।

उनले भने, ‘सरकार र प्रहरी संगठनबीचको सम्बन्ध राम्रो होस् र प्रहरीले आम नागरिकको सेवामा गर्दै आएको कार्यसम्पादनप्रति नकारात्मक सन्देश नजाओस् भन्ने हाम्रो चाहना हो। नेपाल प्रहरी चेन अफ कमान्ड र अनुशासनमा चल्ने संगठन हो। पछिल्लो समय निरन्तर आइरहेका यस्ता समाचारले आम नागरिकमा गलत सन्देश जाने र त्यसले शान्ति सुरक्षामै असर पार्न सक्ने भएकाले पनि हाम्रो ब्युरोले यस विषयमा बुझ्न खोजेको हो।’

प्रवक्ता काफ्लेले समाचार सम्प्रेषण गर्दा सत्यता र तथ्य जाँचमा ध्यान दिन आग्रह गर्ने उद्देश्यले साइबर ब्युरोले सञ्चारकर्मीहरूसँग छलफल गर्न खोजेको पनि दाबी गरे।

उनले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति नेपाल प्रहरीको धारणा सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि इमानदारी र व्यावसायिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘नेपाल प्रहरीको प्रेसप्रति सदैव सकारात्मक भावना छ। प्रेस स्वतन्त्रता र प्रेसकर्मीको सुरक्षाका लागि नेपाल प्रहरी सधैँ कटिबद्ध र प्रतिबद्ध छ। यस विषयमा प्रहरीले इमानदारी र व्यावसायिकताका साथ काम गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ।’

Facebook Comments Box
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…

TOP
15 Shares