ईशनाथको बीपी आदर्श माविमा भ्रष्टाचारको नाङ्गो नाच: मेयरका पीएको आडमा करोडौँ हिनामिना, ८ बुँदे विवरणसहित अभिभावकहरु चिन्तित

जोकहा घिउरा, रौतहट। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ७ मा अवस्थित श्री विशेश्वर प्रसाद कोइराला (बीपी) आदर्श माध्यमिक विद्यालय, जोकहा घिउरा भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको दलदलमा फसेको छ। शिक्षाको मन्दिर भनिने विद्यालय स्थानीय वडा अध्यक्षको नाङ्गो हस्तक्षेप र केही लालची नेताहरूको इसारामा करोडौँ रुपैयाँ हिनामिना गर्ने थलो बनेको हो। विगत ६ महिनादेखि माथिल्लो निकायमा निरन्तर लिखित तथा मौखिक गुनासो गर्दा समेत नियामक निकाय मौन बसेपछि आक्रोशित अभिभावकहरूले विद्यालयभित्र भइरहेको ८ बुँदे महाभ्रष्टाचारको फेरिस्त सार्वजनिक गरेका छन्।
अभिभावकहरूका अनुसार विद्यालयमा भइरहेका मुख्य बेथिति र अनियमितताहरू यस प्रकार छन्:
१. खाजा नै नखुवाई लाखौँको हिनामिना: विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा नै नखुवाई, स्थानीय दलाल नेताहरूसँगको मिलेमतोमा मोटो रकम कागजी प्रक्रिया मिलाएर हिनामिना गरिएको छ।
२. खाता रोक्काको नाटक: नगरपालिकाको शिक्षा शाखाले साउन महिनामै व्यवस्थापन समिति गठन नभएका विद्यालयको खाता रोक्का गर्ने पत्राचार गरे पनि ठूलो आर्थिक चलखेलका कारण बैंक खाता अहिले पनि निर्बाध रूपमा सुचारु रहेको छ।
३. जुनियर शिक्षकलाई प्रअ बनाउन मेयरका पीएको खेल: विद्यालयमा उच्च माध्यमिक र माध्यमिक तहका पर्याप्त योग्य शिक्षकहरू कार्यरत रहँदा-रहँदै प्राथमिक तह (प्रवि) को शिक्षकलाई निमित्त प्रधानाध्यापक बनाइएको छ। यस कार्यमा ईशनाथ नगरपालिकाकी मेयर कौसल्या देवीका दोस्रो पीए प्रमोद कुमार यादवको मुख्य भूमिका रहेको खुलेको छ। पीए प्रमोद यादवले प्रअ मुद्दासँग पटक-पटक आर्थिक चलखेल गरी उच्च माविको साख गिराउने काम गरेको अभिभावकहरूको गम्भीर आरोप छ।
४. अदालतको आदेश अवज्ञा गरी जग्गामा कमिसन खेल: विद्यालयको स्वामित्वमा रहेको ५ बिघा जग्गा स्थानीय केही व्यक्तिहरूले अवैध रूपमा कब्जा (अधिग्रहण) गरेका छन्। यसबारे जिल्ला अदालत र उच्च अदालत वीरगञ्जबाट विद्यालयकै पक्षमा फैसला भइसकेको भए पनि वर्तमान प्रधानाध्यापकले विपक्षीहरूसँग मोटो रकम असुल गरी जग्गा खाली गराउन आलटाल गरिरहेका छन्।
५. कार्यालय सहयोगीकै अगाडि ८ वटा पंखा गायब: केही समयअघि विद्यालयको पहिलो तल्लाबाट ८ वटा विद्युतीय पंखाहरू रहस्यमय ढंगले चोरी भए। रात्रिकालीन सुरक्षाका लागि कार्यालय सहयोगी ड्युटीमै तैनाथ रहेको अवस्थामा ताल्चा समेत नजोगिई पंखा कसरी गायब भए भनी प्रश्न गर्दा प्रअ र शिक्षा शाखाले इलाका प्रहरी चौकी जयनगरको सोधपुछमा समेत गोलमटोल जवाफ दिई घटना लुकाउन खोजेका छन्।
६. शौचालयको बजेट सफा, शौचालय सधैँ फोहोर: विद्यालयमा शौचालयको भौतिक संरचना भए पनि विद्यार्थीहरू बाहिर शौच गर्न जान बाध्य छन्। शौचालय सरसफाइका नाममा बर्सेनि रकम निकासा गरिए पनि सरसफाइको काम शून्य छ।
७. २ वर्षदेखि छात्रवृत्ति रकम गायब: विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि आउने छात्रवृत्ति रकम विगत दुई वर्षदेखि एक जना विद्यार्थीलाई पनि वितरण नगरी प्रधानाध्यापकले आफैँ चलाएका छन्।
८. प्राविधिक मूल्याङ्कन बिना नै रकम निकासा: विद्यालयमा कुनै पनि इन्जिनियर वा प्राविधिकको मूल्याङ्कन र जाँचबुझ बिना नै नक्कली मूल्याङ्कन समिति गठन गरी आर्थिक अनियमितता गर्ने उद्देश्यले पटक-पटक विद्यालयको कोषबाट रकम निकासा गरिएको छ।
पछिल्लो समय स्थानीय तहको अधिकारलाई भ्रष्टाचारको अखडा बनाई विद्यालयको शैक्षिक भविष्य नै तहसनहस पारेको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। मेयरका पीए प्रमोद कुमार यादव र निमित्त प्रअ बीचको भ्रष्ट नेक्ससलाई तत्काल भत्काई, यस महाघोटालाको उच्च स्तरीय छानबिन र दोषीमाथि हदैसम्मको कानुनी कारबाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी सीमाबासी एवं आम अभिभावकहरूले दिएका छन्।

Facebook Comments Box
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
१ दिन अगाडि

2.4kViews 30 Shares Share on Facebook Share on Twitter सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…

TOP
15 Shares