पत्रकार पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसको विशेष बैठक, दिउँसो १ बजे गगनले सम्बोधन गर्ने

काठमाडौं । सरकारका पछिल्ला गतिविधि र सञ्चारमाध्यममाथि भएको धरपकडबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार विशेष बैठक बोलाएको छ।

कांग्रेस सभापति गगन थापाले आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीको बैठक बोलाएका हुन्। बैठकमा सरकारको पछिल्लो कार्यशैली, सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नबारे छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।

बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीहरू प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालाई बोलाइएको छ।

महामन्त्री पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।

उनका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक दायित्व हो। कुनै समाचार सामग्रीप्रति असहमति वा आपत्ति भए कानुनी प्रक्रियाबाट त्यसको परीक्षण र निरूपण गर्न सकिने विकल्प हुँदाहुँदै राज्यशक्तिको प्रयोग गरेर पत्रकारलाई हतोत्साहित पार्नु विधिको शासनविपरीत हुने उनको भनाइ छ।

कांग्रेसले सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तत्काल रोक्न तथा कुनै विषयमा अनुसन्धान गर्नुपर्ने भए स्थापित कानुनी प्रक्रियाअनुसार निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

महामन्त्री पौडेलले विगतमा पनि सञ्चारमाध्यमलाई आतंकित पार्ने प्रयास भएको उल्लेख गर्दै त्यस्तै प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु अस्वीकार्य भएको बताएका छन्। आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल बन्द गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।

कांग्रेसले बैठकपछि समसामयिक राजनीतिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ। बैठकपछि सभापति गगन थापाले विशेष सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

Facebook Comments Box
सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
१ दिन अगाडि

2.3kViews 30 Shares Share on Facebook Share on Twitter सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…

TOP
15 Shares