

तिप्लिङमा स्याउ लटरम्मै ,बेच्न बजार लान सकिएन
धादिङ । धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन ।
मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । लामा भन्नुहुन्छ, “गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।”
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । “सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ”, लामाले विकटको समस्या सुनाए।
हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन। हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए ।
लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाएको छ । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो चार सयको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा एक सय ५० मा दिइरहेएको छ । एक सय ५० किलोले नै हिसाब गर्ने हो भने पनि नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ ।
कानुन विषय पढ्नुभएका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर गर्नुहुन्छ । आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाएको हो । माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ ।
“हामी सानो छँदा घरमा दुई बोट थियो । धेरै फल्थ्यो । गाउँभरिका मान्छेलाई खान पुग्थ्यो । मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट एक सय २० का दरले बिरुवा ल्याएर लगाएँ”, लामा भन्छन्, “आमा र दिदीले नियमित हेरचाह गर्छन्, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन÷चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।”
फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति रु दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ ।
स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



