गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य वस्तु फेला परेपछि स्थानीय प्रशासनले होटल तथा रेष्टुरेन्टहरूको अनुगमनलाई तीव्र बनाएको छ।

प्राप्त जानकारीअनुसार विमानस्थल नजिक रहेको लड्स प्लाजामा गृहमन्त्री गुरुङले अमलेट खाने क्रममा त्यसभित्र माछाको हड्डी (काँडा) फेला परेको थियो। घटनापछि प्रहरीले होटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको भए पनि प्रारम्भिक अनुसन्धानमा गम्भीर लापरबाही पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले होटलमा सामान्य त्रुटि देखिएको र त्यस सम्बन्धमा आवश्यक सोधपुछ गरिएको बताए। “स्थानीय प्रशासनको अनुगमनका क्रममा सामान्य कमजोरी भेटिएको हो। कर्मचारीसँग सोधपुछ गरी आवश्यक निर्देशन दिएर छाडिएको छ,” उनले भने।

घटनापछि प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त टोलीले मंगलबार भरतपुर र सौराहा क्षेत्रका विभिन्न होटल तथा खानपान व्यवसायहरूको अनुगमन गरेको छ। खाद्य सुरक्षामा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले होटलहरूको भान्सा, खाद्य सामग्रीको गुणस्तर, सरसफाइ तथा सेवा व्यवस्थापनको निरीक्षण गरिएको जनाइएको छ।

रास्वपाको महाधिवेशनका कारण चितवनमा देशभरबाट ठूलो संख्यामा प्रतिनिधि, नेता–कार्यकर्ता तथा आगन्तुकहरूको आगमन भइरहेका बेला खाद्य पदार्थमा मिसावट वा लापरबाही हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनुगमन अभियानलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

प्रशासनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ भने उपभोक्तालाई पनि खानपान सम्बन्धी कुनै गुनासो वा समस्या देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

Facebook Comments Box
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१२ घण्टा अगाडि

2.2kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…

TOP
15 Shares