डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना घुमुवा प्रहरीसहित पाँच जना व्यापारीसँग पाँच लाख रुपैयाँ जबर्जस्ती असुली गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई जना प्रहरी सहायक हवलदार, एक जना सशस्त्र प्रहरीका जवान, एक जना व्यापारी र एक जना आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने व्यक्ति रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कूर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र अभियान्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्क नजिकै ‘थ्रिस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उजुरी दर्ता भएपछि प्रहरी सहायक हवलदार खान, कुर्मी, भण्डारी र रिजाललाई जेठ २८ गते र सशस्त्र जवान चौधरीलाई २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार सादा पोशाकमा पुगेका ती व्यक्तिहरूले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागुऔषध मुद्दामा फसाउने धम्की दिँदै रकम असुल गरेका थिए ।

घटनामा संलग्न प्रहरी सहायक हवलदारहरू डीआईजी राजेन्द्रप्रसाद भट्टले घुमुवाका रुपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति भएको खुलेको छ । यद्यपि उनीहरूको दरबन्दी लागूऔषध नियन्त्रण ब्युरोमा रहेको र डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएको जनाइएको छ ।

सशस्त्र प्रहरी जवान चौधरी भने चौलिकास्थित सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका घुमुवा हुन् । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी ५० एए ९८८५) को कारमा आएका ती व्यक्तिहरूको गतिविधि सीसीटीभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सुर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

यता घटनाका सम्बन्धमा लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरका प्रमुख तथा डिआइजी राजेन्द्र प्रसाद भट्टसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन चाहेनन् ।

Facebook Comments Box
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
२१ घण्टा अगाडि

2.3kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…

TOP
335 Shares