प्रहरी निरीक्षक पावल सिंह लामा ‘माघ महिनाको बेस्ट पुलिस अफ द मन्थ’ घोषित

मकवानपुर — इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख प्रहरी निरीक्षक पावल सिंह लामा ‘माघ महिनाको बेस्ट पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्याम खत्री ले उहाँलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो।
प्रहरी निरीक्षक लामाले माघ महिनाभर अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन तथा समुदाय–प्रहरी सहकार्य सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। विभिन्न आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ, तथा समुदायसँगको निरन्तर संवादमार्फत सुरक्षित वातावरण निर्माणमा उहाँको नेतृत्व प्रभावकारी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समारोहमा बोल्दै एसपी खत्रीले कर्तव्यनिष्ठा, इमान्दारिता र जिम्मेवारीबोधका साथ काम गर्ने प्रहरी कर्मचारी नै संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।
उत्कृष्ट प्रहरी घोषित भएपछि निरीक्षक लामाले प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिनुभयो। “समुदायको साथ र सहकार्यबिना शान्ति–सुरक्षा कायम गर्न सम्भव हुँदैन। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।
प्रहरी संगठनले हरेक महिना कार्यसम्पादनका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्दै सम्मान गर्ने परम्परा अनुसार यस पटक निरीक्षक लामा पुरस्कृत हुनुभएको हो।

Facebook Comments Box
TOP
317 Shares