

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ भएको दाबी, सुर्खेतबाट नियन्त्रणमा लिएर नेपालगन्ज हुँदै काठमाडौं लैजाने तयारी
सुर्खेत — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री लाई नियन्त्रणमा लिएको दाबी गरिएको छ। सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतहरूले जनाएका छन्।
स्रोतका अनुसार करोडौँ रुपैयाँ बराबरको संदिग्ध आर्थिक कारोबार तथा सम्पत्तिको स्रोत नखुलेपछि अनुसन्धान अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बिचौलिया दीपक भट्टसँग पौडेलको कथित व्यावसायिक सम्बन्ध देखिएको र ३० करोडभन्दा बढीको कारोबारसम्बन्धी विवरण भेटिएको दाबी गरिएको छ। भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोग दायर भई कारागार चलान भइसकेका व्यक्ति हुन्।
अनुसन्धान स्रोतले जनाएअनुसार, पौडेलले सत्तामा रहँदा केही व्यवसायीलाई लाभ पुग्ने गरी नीतिगत निर्णय तथा प्रभाव प्रयोग गरेको र त्यसबापत आर्थिक लाभ लिएको आरोपसमेत छ। साथै, सामान्य व्यक्तिको नाममा जग्गा तथा सेयर खरिद गरी सम्पत्ति लुकाउने प्रयास भएको आशंका पनि अनुसन्धानमा उठाइएको स्रोतको भनाइ छ।
यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। तर, संकलित प्रमाणका आधारमा बयान लिएर मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतहरूले बताएका छन्।
यसअघि पनि पौडेल बालुवाटार जग्गा (ललिता–निवास) प्रकरणमा मुछिएका थिए। सो प्रकरणमा उनको परिवारसँग सम्बन्धित जग्गा फिर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको थियो।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा १० जनाको टोली कार्यक्रमस्थल पुगेको थियो। उनलाई सोमबार साँझ नेपालगन्ज पुर्याई प्रहरी तालिम केन्द्रमा राखिएको र मंगलबार जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको जनाइएको छ।
पक्राउका बेला एमाले नेताहरू वीरेन्द्रनगरमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छलफल कार्यक्रममा सहभागी थिए। उपाध्यक्ष पौडेललाई “केही काम छ” भन्दै बाहिर बोलाएपछि नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। केही समयमै पक्राउबारे समाचार फैलिँदा कार्यक्रममा असहज स्थिति बनेको र कार्यक्रम स्थगित गरिएको बताइएको छ।
यस घटनाबारे आधिकारिक पुष्टि र विस्तृत विवरण भने सम्बन्धित निकायबाट आउन बाँकी छ। अनुसन्धान जारी रहेकाले थप तथ्यहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





