कोशी प्रदेश प्रहरीका सहायक हवल्दारमाथि गाँजा तस्करी सञ्जालसँग सम्बन्धको गम्भीर आरोप, संगठनभित्र प्रभाव विस्तारबारे प्रश्न

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार अंकित सिंह पुनः विवादको केन्द्रमा आएका छन्। उनीमाथि कोशी प्रदेशदेखि मधेस हुँदै भारतसम्म फैलिएको गाँजा तस्करी सञ्जालसँग निकट सम्बन्ध राखेको र विभिन्न स्थानमा प्रभाव विस्तार गरेको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार सिंह हाल कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेको मातहतमा साइबर शाखामा कार्यरत छन्। औपचारिक रूपमा साइबर सम्बन्धी काममा खटिएको भनिए पनि उनी सादा पोसाकमा विभिन्न गतिविधिमा संलग्न हुने गरेको दाबी सुरक्षा निकायभित्रैबाट उठ्न थालेको छ।

स्रोतहरूले जनाएअनुसार सिंह नियमित रूपमा जनकपुर र महोत्तरी क्षेत्रसम्म आवतजावत गर्ने गरेका छन्। त्यहाँ उनले गाँजा कारोबारमा संलग्न भएको आरोप लागेका केही व्यक्तिहरूसँग भेटघाट गर्ने र त्यसपछि उच्च प्रहरी अधिकारीहरूसम्म पहुँच बनाउने गरेको आरोपसमेत लगाइएको छ। कोशी क्षेत्रमा उत्पादन हुने गाँजा सप्तरी हुँदै भारतीय सीमासम्म पुर्‍याउने क्रममा विभिन्न तहमा ‘सेटिङ’ मिलाइने गरेको दाबी पनि स्रोतहरूको छ।

यसैबीच, सप्तरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक डीएसपीका बडीगार्ड प्रहरी जवान अमित रायको समेत यस सञ्जालमा संलग्नता रहेको आशंका गरिएको स्रोतहरूको भनाइ छ। ताप्लेजुङ दरबन्दी भएका राय लामो समयदेखि प्रभावका आधारमा सप्तरीमै कार्यरत रहेको बताइन्छ।

अंकित सिंह यसअघि पनि विवादमा परेका व्यक्ति हुन्। मधेस प्रदेशमा कार्यरत रहँदा उनले विभिन्न व्यापारीसँग रकम असुली गरेको आरोपपछि आलोचना भएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले उनलाई अनुसन्धानका लागि तानेको र छानबिनपछि पाँचथर सरुवा गरिएको भए पनि केही समयमै काजमा पुनः कोशी प्रदेश प्रहरी कार्यालयमा ल्याइएको स्रोतको दाबी छ।

प्रहरी संगठनभित्रकै केही अधिकृतहरूले सिंहको भूमिका सूचना संकलनभन्दा बढी आर्थिक लाभका गतिविधिमा केन्द्रित रहेको आरोप लगाउने गरेका छन्। उनीमाथि आफूलाई असहज ठानिएका प्रहरी कर्मचारी तथा अधिकृतविरुद्ध बेनामी उजुरी दिने, नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी अभियान चलाउने तथा एकभन्दा बढी मोबाइल र ल्यापटपमार्फत सम्पर्क सञ्जाल सञ्चालन गर्ने गरेको आरोपसमेत लगाइएको छ।

यता, डीआईजी बिनोद घिमिरेले भने सिंहलाई सादा पोसाकमा परिचालन गरिएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले अंकित सिंह साइबर शाखामा कार्यरत रहेको र सूचना प्रविधिसम्बन्धी ज्ञानका कारण आफूले नै उनलाई कोशी प्रदेशमा ल्याएको स्पष्ट पारेका छन्।

प्रहरी संगठनभित्र सामान्य दर्जाका एक कर्मचारीले प्रदेशस्तरदेखि सीमापारसम्म प्रभाव विस्तार गरेको भनिएको विषयले भने थप गम्भीर प्रश्न उठाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
204 Shares