

सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले नवलपरासी (पश्चिम)को सीमावर्ती सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
शुक्रबार गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नवलपरासी (पश्चिम)का प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुस्ताको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक सुरक्षाकर्मी खटाउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।
यसअघि असार १७ गते सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था सुदृढ गर्न तथा नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। हाल सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी बोर्डर आउट पोस्ट (बीओपी) सञ्चालनमा रहे पनि स्थानीयवासीले थप सुरक्षा व्यवस्था आवश्यक रहेको माग गर्दै आएका छन्।
गृह मन्त्रालयले सुस्ता क्षेत्रमा नागरिकता प्राप्त गर्न नसकेका योग्य व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइल तयार गर्न पनि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। साथै, कानुनी रूपमा नागरिकता प्राप्त गर्न योग्य देखिएका व्यक्तिलाई प्रचलित नागरिकता ऐन तथा नियमावलीबमोजिम नागरिकता उपलब्ध गराउन भनिएको छ।
त्यस्तै, कानुनी जटिलताका कारण तत्काल नागरिकता प्रदान गर्न नसकिने अवस्था भए त्यसको स्पष्ट कारणसहित नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा विस्तृत प्रतिवेदन पेश गर्नसमेत निर्देशन दिइएको छ।
गृह मन्त्रालयको पछिल्लो निर्णयलाई सुस्ता क्षेत्रको सुरक्षा व्यवस्थापन र नागरिकतासम्बन्धी समस्याको समाधानतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
एक घण्टाभित्र दरबन्दीमा फर्काउन प्रहरी प्रधान कार्यालयको कडा निर्देशन, ‘काज संस्कृति’ अन्त्य गर्ने अभियान तीव्र
-
भूमि मन्त्री प्रतिभा रावलको १०० दिन : ४८ उपलब्धि सार्वजनिक, २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
-
सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयको निर्देशन
-
दुवै सुरक्षा निकायका प्रमुख एकैसाथ विदेश जाने, निमित्त नेतृत्वबारे अनिश्चितता
-
सुस्तामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने गृहको निर्देशन
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
१ दिन अगाडि
1.7kViews 453 Shares Share on Facebook Share on Twitter काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती…





