संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, डेब्यु टोली केप भर्डको प्रशंसनीय प्रदर्शन

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा डेब्यु टोली केप भर्डलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको मायामी स्टेडियममा भएको रोमाञ्चक खेलमा फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ६४औँ स्थानको केप भर्डले कडा चुनौती दिएको थियो। कप्तान लिओनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो विश्वकपमा मेसीको २०औँ गोल हो।

दोस्रो हाफमा डेरोय दुआर्टेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।

केप भर्डले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोप्स काब्रालमार्फत बराबरी गोल फर्कायो। खेल २–२ को अवस्थामा पुगेपछि थप समय थप रोमाञ्चक बनेको थियो।

अन्ततः १११औँ मिनेटमा केप भर्डका डिनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो। त्यसपछि केप भर्डले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन।

हारका बाबजुद डेब्यु विश्वकपमै केप भर्डले प्रभावशाली प्रदर्शन गर्दै समर्थकको प्रशंसा बटुल्यो। अर्जेन्टिनाले अब अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box
TOP
185 Shares