

‘ब्लू बस’ योजनामा कुलमान घिसिङको प्रतिक्रिया : रङ होइन, सम्पूर्ण सार्वजनिक यातायात सुरक्षित हुनुपर्छ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले सार्वजनिक गरेको ‘ब्लू बस’ सञ्चालन योजनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै महिलाको सुरक्षाका लागि विशेष व्यवस्था सकारात्मक भए पनि दीर्घकालीन समाधान सम्पूर्ण सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित बनाउनु रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना स्वागतयोग्य भएको उल्लेख गरेका छन्। तर, यसका लागि साझा यातायातका विद्युतीय बसको हरियो पहिचान परिवर्तन गर्नु उपयुक्त नहुने उनको धारणा छ।
घिसिङका अनुसार साझा यातायातले वर्षौंदेखि हरियो रङमार्फत वातावरणमैत्री तथा विद्युतीय सार्वजनिक यातायातको सन्देश दिँदै आएको छ। उनका अनुसार हरियो रङ केवल पहिचान मात्र नभई हरित विकास र दिगो सार्वजनिक यातायातप्रतिको राष्ट्रिय प्रतिबद्धताको प्रतीक पनि हो।
उनले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु सकारात्मक पहल भए पनि वास्तविक उपलब्धि भने महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको बताएका छन्।
घिसिङले महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’ मा सीमित हुन नहुने उल्लेख गर्दै सम्पूर्ण सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार रङ परिवर्तनभन्दा सोच र प्रणालीमा सुधार आवश्यक रहेको भन्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





