संसद्मा गृहमन्त्री सुधन गुरुङको प्रतिप्रश्न : ‘मुखले होइन, फिल्डमा गएर जनताको सेवा गर्नुपर्छ’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रतिपक्षी सांसदहरूमाथि नै प्रतिप्रश्न गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनापछि सरकार उपचार र उद्धारमा केन्द्रित रहेको दाबी गर्दै राजनीतिक ‘स्टन्टबाजी’भन्दा व्यवहारिक काममा आफू विश्वास गर्ने बताए।

सांसदहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रश्न गरे, “तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?” उनले गणेश नेपालीले आत्मदाह प्रयास गरेलगत्तै वीर अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिन आफू सक्रिय रहेको र बिरामीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न सरकार रातभर खटिएको बताए।

भारतमा थप उपचारका लागि पठाउने विषयमा सरकारले निकै प्रयास गरेको उल्लेख गर्दै उनले चिकित्सकहरूको सल्लाहअनुसार अन्ततः विदेश नलगिएको स्पष्ट पारे। उनका अनुसार अहिले पनि गृह मन्त्रालयमा पीडित परिवारलाई कसरी राहत र सान्त्वना दिने भन्ने विषयमा छलफल भइरहेको छ।

गुरुङले भने, “मुखले बोलेर जनताको सेवा हुँदैन, फिल्डमा गएर सेवा गर्नुपर्छ। मलाई स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ।”

घटनालाई लिएर सरकारमाथि लागेको आलोचनाको जवाफ दिँदै उनले नेपालमा तीन तहको सरकार रहेको स्मरण गराए। घटनास्थलमा ह्वील लक ट्राफिक प्रहरीले नभई नगर प्रहरीले लगाएको दाबी गर्दै उनले स्थानीय सरकार र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाए।

उनले भने, “सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु। सरकार तीन तहको हुन्छ। जहाँ घटना भयो, त्यहाँ ट्राफिकले होइन, नगर प्रहरीले ह्वील लक लगाएको हो।”

स्थानीय र प्रदेश सरकार प्रतिपक्षी दलकै नेतृत्वमा रहेको संकेत गर्दै उनले जिम्मेवारीबाट पन्छिन नहुने धारणा राखे। साथै, सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाइने कानुन अहिलेको सरकारले नभई अघिल्लै व्यवस्थाअनुसार कार्यान्वयन गरिएको स्पष्ट पार्दै उनले भने, “कालो सिसा लगाउन नपाइने कानुन हामीले बनाएको होइन, बनेको कानुन कार्यान्वयन गरेका हौँ।”

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१६ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
158 Shares