कार्की समाजद्वारा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित

काठमाडौं । कार्की समाजले समाज, राजनीति, प्रशासन, सुरक्षा, न्याय, कला तथा व्यवसायलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
ललितपुरस्थित रिभाइभ लेजर पार्कमा मंगलबार आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। युवा व्यवसायी तथा कार्यक्रम संयोजक सुवास कार्कीका अनुसार कार्की समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अग्रज तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई एकै थलोमा जोड्ने प्रयास गरिएको हो।
कार्यक्रममा माननीय सांसद डा. अर्जुन कार्की, वरिष्ठ लोकगायक बमबहादुर कार्की, प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की, न्यायाधीशद्वय टेकबहादुर कार्की र तिलक कार्की, अवकाशप्राप्त उपरथी महेशविक्रम कार्की, अवकाशप्राप्त महासेनानी प्रकाशजंग कार्की, पूर्वसहसचिव वेदबहादुर कार्की, गृह मन्त्रालयका प्रमुख स्वकीय सचिव जेम्स कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले कार्यक्रम संयोजक तथा युवा व्यवसायी सुवास कार्कीलाई सम्मान गर्नुभएको थियो। कार्की समाजको सम्मान कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एउटै थलोमा जोड्ने पहल गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले सुवास कार्कीको प्रशंसा गर्दै सम्मान गर्नुभएको हो।
त्यस्तै, कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सांसद डा. अर्जुन कार्की र अवकाशप्राप्त उपरथी महेशविक्रम कार्कीले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको थियो। उहाँहरूले प्रमुख निर्वाचन आयुक्त कार्कीको जिम्मेवारी तथा योगदानको चर्चा गर्दै निर्वाचन प्रणालीलाई थप विश्वसनीय, निष्पक्ष र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले कार्की समाजलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउँदै देशभर छरिएर रहेका कार्की परिवारलाई एउटै सामाजिक सूत्रमा जोड्नुपर्नेमा जोड दिएका थिए। समाजको संस्थागत विकाससँगै आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउन सबै कार्की परिवारले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनीहरूको भनाइ थियो।
देशका विभिन्न भूभागमा रहेका कार्की परिवारबीच आपसी परिचय, सम्बन्ध विस्तार र सहकार्यका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले बताएका थिए। सम्मान तथा अभिनन्दनका कार्यक्रमले समाजका अग्रजहरूको योगदानलाई सम्मान र स्मरण गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक जिम्मेवारी तथा सकारात्मक योगदानका लागि प्रेरित गर्ने उनीहरूको धारणा थियो।
कार्यक्रम संयोजक सुवास कार्कीले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा कार्की समाजका सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि कार्की समाजलाई थप संगठित बनाउँदै कार्की परिवारबीचको सम्बन्ध विस्तार तथा सामाजिक सहकार्यका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

Facebook Comments Box
TOP
15 Shares