सडक दुर्घटना शून्यमा झार्नु ट्राफिक प्रहरीको लक्ष्य : एसएसपी काफ्ले

काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको ज्यान जोगाउनु ट्राफिक प्रहरीको प्रमुख उद्देश्य रहेको बताएका छन्।

सोमबार काठमाडौंमा बागमती प्रदेश समितिले आयोजना गरेको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बढ्दो सवारी चापसँगै सडक सुरक्षाको चुनौती पनि बढ्दै गएको उल्लेख गरे।

उनका अनुसार हाल नेपालमा करिब ६७ लाख सवारी साधन दर्ता भएका छन् भने वार्षिक रूपमा करिब ६३ लाख सवारी सञ्चालनमा छन्। काठमाडौं उपत्यकामा मात्रै दैनिक २० लाखभन्दा बढी सवारी साधन सडकमा गुड्ने गरेका छन्।

एसएसपी काफ्लेले पछिल्लो १० वर्षमा सडक दुर्घटनाबाट ३० देखि ३२ हजार जनाले ज्यान गुमाएको जानकारी दिँदै यसलाई शून्यमा झार्ने लक्ष्यसहित ट्राफिक प्रहरी काम गरिरहेको बताए।

उनले देशभर दैनिक औसत ५० भन्दा बढी सवारी दुर्घटना हुने, ती दुर्घटनामा करिब ८ जनाको मृत्यु हुने तथा काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ जनासम्मले ज्यान गुमाउने गरेको तथ्यांक प्रस्तुत गरे। साथै, दैनिक ५० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते वा अङ्गभङ्ग हुने गरेको पनि उनले बताए।

ट्राफिक प्रहरीले जरिवाना उठाउने उद्देश्यले काम गर्छ भन्ने धारणा गलत भएको स्पष्ट पार्दै उनले आफ्नो २५ वर्षे प्रहरी सेवामा जरिवाना संकलनको कुनै लक्ष्य नपाएको बताए। चालकहरूले ट्राफिक नियम पालना गरे कारबाही गर्नुपर्ने अवस्था नै नआउने उनको भनाइ थियो।

ट्राफिक एफएमको वार्षिकोत्सवका अवसरमा ३० वर्षसम्म ट्राफिक कारबाहीमा नपरेका चालक खोज्दा कोही पनि नभेटिएको र अन्ततः २० वर्षसम्म कुनै कारबाहीमा नपरेका एक जना चालकलाई मात्र सम्मान गर्न सकिएको प्रसंग उनले उल्लेख गरे।

एसएसपी काफ्लेले सवारीधनीलाई चालक नियुक्त गर्दा उनीहरूको दक्षता, अनुभव र पृष्ठभूमि परीक्षण गर्न आग्रह गरे। मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति र ट्राफिक नियमको उल्लंघन नै अधिकांश दुर्घटनाको मुख्य कारण भएकाले सडक अनुशासन पालना गर्न सबै सरोकारवालालाई उनले अपिल गरे।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares