सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । देशको सुरक्षा संयन्त्र साम्प्रदायिक तनाव र शान्ति सुरक्षाको चुनौतीसँग जुधिरहेका बेला रुपन्देहीको सीमावर्ती क्षेत्रमा अवैध कारोबार बढेको भन्दै स्थानीय व्यवसायी र सरोकारवालाले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
भारतसँग सीमा जोडिएको रुपन्देहीको मर्चवारलगायतका क्षेत्रमा पछिल्लो समय चोरी–तस्करी बढेको दाबी गर्दै स्थानीयहरूले प्रभावकारी निगरानी र नियन्त्रण हुन नसकेको गुनासो गरेका छन्। उनीहरूका अनुसार सीमाबाट दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न व्यापारिक वस्तुसम्म अवैध रूपमा ओसारपसार भइरहेको छ।
सीमाक्षेत्रमा तस्करी नियन्त्रण राज्यको प्राथमिक जिम्मेवारी भए पनि प्रभावकारी कारबाही हुन नसकेको भन्दै स्थानीय व्यवसायीहरूले विगतदेखि नै प्रहरी प्रशासनको आलोचना गर्दै आएका छन्। अहिले पनि अवस्था उस्तै रहेको उनीहरूको दाबी छ।
यसैबीच केही स्थानीय तथा सुरक्षा स्रोतहरूले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमाथि नै प्रश्न उठाएका छन्। स्रोतहरूको आरोप छ कि प्रहरी नेतृत्व प्रभावकारी बन्न नसक्दा सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रण बाहिर जान थालेको छ। केही स्रोतहरूले प्रहरी कर्मचारीमार्फत ‘लाइन’ सञ्चालन भएको आरोपसमेत लगाएका छन्।
यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। प्रहरी नेतृत्वले भने अवैध चोरी–पैठारी नियन्त्रणमा कडाइ गर्ने नीति लिएको बताउँदै आएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि मातहतका निकायलाई तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिँदै आएका छन्।
तर, नेतृत्वले सार्वजनिक रूपमा व्यक्त गर्ने प्रतिबद्धता र सीमाक्षेत्रको वास्तविक अवस्थाबीच तालमेल नमिलेको भन्दै नागरिकस्तरबाट प्रश्न उठ्न थालेको छ। सुरक्षा संयन्त्र अन्य संवेदनशील घटनामा केन्द्रित भएको मौका छोपेर सीमामा अवैध कारोबार मौलाउन नदिन प्रहरी प्रशासन थप जिम्मेवार बन्नुपर्ने आवाज उठेको छ।
यसैबीच रुपन्देही प्रहरीको कार्यशैलीबारे गृह मन्त्रालयसम्म गुनासो पुगेको र प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको बताइएको छ। अब उठेका आरोपमाथि निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग बढेको छ।
सुरक्षाको जिम्मेवारी बोकेको निकायमाथि नै प्रश्न उठ्नु गम्भीर विषय हो। सीमाक्षेत्रमा कानुनको प्रभावकारी कार्यान्वयन र प्रहरी संगठनको विश्वसनीयता कायम राख्न तत्काल सुधारात्मक कदम आवश्यक देखिएको छ।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
15 Shares