मोहीको नाम हटाएर जग्गा बिक्री, भोलिपल्टै रु. १ करोड ३० लाख ऋण प्रवाह भएको खुलासा

विराटनगर । मोही कायम रहेको जग्गाको अभिलेखबाट मोहीको नाम हटाएर बिक्री गरिएको र सोही जग्गा धितो राखी भोलिपल्टै रु. १ करोड ३० लाख ऋण प्रवाह गरिएको तथ्य सार्वजनिक भएपछि भूमि प्रशासन कार्यालय, बैंक र बिचौलियाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

प्राप्त विवरणअनुसार जहदा गाउँपालिका–५ स्थित १२ कट्ठा १५ धुर क्षेत्रफलको जग्गाको मूल अभिलेखमा अजबलाल केवट (दास) मोहीका रूपमा उल्लेख भए पनि नयाँ धनीपुर्जा जारी गर्दा मोहीको विवरण हटाइएको थियो। त्यसपछि असार ३० गते उक्त जग्गा सन सप्लायर्सको नाममा नामसारी गरिएको र असार ३१ गते सिटिजन्स बैंक विराटनगर शाखाले सोही जग्गा धितो राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको खुलेको छ।

भूमिसम्बन्धी कानुनअनुसार मोहीको हक सुरक्षित नगरी वा मोही लगत कट्टा नगरी त्यस्तो जग्गा बिक्री वा धितो राख्न नमिल्ने व्यवस्था भए पनि यस घटनामा मोहीलाई जानकारी नै नदिई सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको आरोप लागेको छ।

घटना सार्वजनिक भएपछि भूमि प्रशासन कार्यालय विराटनगरले अभिलेखमा डटपेनले मोहीको नाम थपेको र त्यसपछि डिजिटल अभिलेखसमेत सच्याएको आरोप स्रोतले लगाएको छ। तर बैंकमा पेश गरिएको धनीपुर्जामा भने मोहीको नाम उल्लेख नभएको बताइएको छ।

कार्यालयका गुनासो सुन्ने अधिकारी ढाकाप्रसाद बरालले प्राविधिक त्रुटिका कारण कमजोरी भएको स्वीकार गर्दै पछि अभिलेख सच्याइएको दाबी गरेका छन्। यद्यपि, जग्गा पास गर्नुअघि भरिने अनलाइन फाराममै मोहीको विवरण नराखिएको तथ्यले नियतवश नाम हटाइएको आशंका थप बलियो बनेको छ।

यता, सन सप्लायर्सका सञ्चालक सचिन साहले बैंकबाट रु. १ करोड ३० लाख पर्चेजिङ लोन लिएको स्वीकार गर्दै ऋण व्यवस्थापनको सम्पूर्ण प्रक्रिया अजय मण्डलले मिलाएको बताएका छन्।

यसैबीच, पुराना धितोधनी राजेन्द्रप्रसाद केवटले आफूलाई जानकारी नै नदिई धितो राखिएको जग्गा तेस्रो पक्षलाई बिक्री गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। उनले घटनामा संलग्न सबै पक्षमाथि कानुनी कारबाहीको माग गरेका छन्।

घटनापछि सरकारी अभिलेखको विश्वसनीयता, बैंकिङ प्रक्रिया तथा भूमि प्रशासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
137 Shares