मानव बेचबिखनको नयाँ रूपप्रति आईजीपी कार्कीको चिन्ता, साइबर स्क्यामसँग जोडियो अपराध

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिको विकाससँगै झन् जटिल, संगठित र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिँदै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले मानव बेचबिखन अब केवल यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह वा बालबालिकाको बेचबिखनमा मात्र सीमित नरहेको स्पष्ट पारे। पछिल्ला वर्षहरूमा आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्‍याउने, त्यहाँ बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने नयाँ प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको उनले बताए।

उनले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय संगठित अपराधको स्वरूप ग्रहण गरिसकेको उल्लेख गर्दै यसलाई परम्परागत दृष्टिकोणबाट मात्र हेर्न नहुने धारणा राखे। मानव बेचबिखन, साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालबीचको अन्तरसम्बन्धलाई ध्यानमा राखेर अनुसन्धान, नियन्त्रण तथा नीतिगत रणनीति निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग प्रभावकारी रूपमा जुध्न कानुनी संरचनालाई समयानुकूल परिमार्जन गर्नुका साथै सुरक्षा निकायको प्राविधिक क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सरकार, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदार सबैको सक्रिय, समन्वित र साझा प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै संगठित अपराधविरुद्ध एकीकृत रणनीतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
423 Shares