मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन

काठमाडौं । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव तथा प्रदर्शनका गतिविधि मधेसका विभिन्न जिल्लातर्फ फैलिन थालेपछि नेपाल प्रहरीले देशका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। सम्भावित जोखिमलाई समयमै नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना वरिष्ठ अधिकृतलाई फिल्डमा परिचालन गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार मधेस प्रदेशमा एआईजी नेतृत्वको विशेष सुरक्षा टोली परिचालन गरिएसँगै कोशी र लुम्बिनी प्रदेशमा समेत मुख्यालयबाट वरिष्ठ प्रहरी अधिकृतहरू पठाइएको छ। उनीहरूले स्थानीय प्रहरी इकाइसँग समन्वय गर्दै जनशक्ति परिचालन, सुरक्षा व्यवस्थापन, सूचना संकलन तथा सम्भावित घटनाको तत्काल नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै एआईजीदेखि एसएसपी तहसम्मका अधिकृतहरू जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको हो। उनका अनुसार केन्द्रबाट खटिएका अधिकृतहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायसँग समन्वय गर्दै कुनै पनि प्रकारको हिंसा वा अशान्ति फैलिन नदिन विशेष निगरानी गरिरहेका छन्।
सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव अन्य जिल्लामा विस्तार हुन नदिन प्रहरी प्रधान कार्यालयले सुरक्षा रणनीतिलाई थप सुदृढ बनाएको जनाएको छ। आवश्यकता अनुसार थप जनशक्ति, दंगा नियन्त्रण सामग्री तथा विशेष सुरक्षा योजना पनि तयारी अवस्थामा राखिएको छ।


कुन अधिकृत कहाँ खटिए ?
एआईजी सिद्धीबिक्रम शाह – बाँके
एआईजी हिमालय कुमार श्रेष्ठ – मधेस प्रदेश
एआईजी उमा प्रसाद चतुर्वेदी – कपिलवस्तु
एआईजी ईश्वर कार्की – कोशी प्रदेश तथा सुनसरी
डीआईजी दिनेश कुमार आचार्य – सिरहा
डीआईजी अबि नारायण काफ्ले – सप्तरी
एसएसपी गोपालचन्द्र भट्टराई – सर्लाही
एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा
एसएसपी दीप शम्शेर जबरा – रौतहट
एसएसपी नवराज अधिकारी – चितवन
एसएसपी कृष्णप्रसाद पंगेनी – महोत्तरी
एसएसपी होबिन्द्र बोगटी – बारा
एसएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल – मोरङ
एसएसपी भुवनेश्वर तिवारी – धनुषा
एसएसपी अमरेन्द्रबहादुर सिंह – मधेस प्रदेश
प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। प्रहरीका अनुसार देशको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आवश्यक सबै सुरक्षा तयारी प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares