गुरु पूर्णिमा पर्व आज मनाइँदै, गुरु र वेदव्यासको स्मरणमा श्रद्धा अर्पण

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। ज्ञान, शिक्षा र दीक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्दै हिन्दू धर्मावलम्बी तथा विभिन्न शैक्षिक संस्थाहरूले विविध कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदैछन्।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहेको उल्लेख गर्दै धर्मशास्त्रमा अज्ञानरूपी अन्धकार हटाई ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई गुरु भनिएको छ। जीवनलाई सही मार्गदर्शन दिने गुरुको स्थान शास्त्रहरूले ब्रह्मा, विष्णु र महेश्वर समान मानेका छन्।

शास्त्रमा भनिएको छ–
“गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥”

माता–पिताजस्तै गुरुलाई पनि देवतासरह सम्मान गर्दै ‘आचार्यदेवो भव’ भन्ने परम्परा रहेको छ। गुरु पूर्णिमाका अवसरमा विद्यालय, गुरुकुल तथा विभिन्न संघसंस्थाले गुरुको योगदानको स्मरण गर्दै सम्मान कार्यक्रम आयोजना गर्ने गरेका छन्।

व्यास जयन्ती पनि मनाइँदै

गुरु पूर्णिमाकै दिन वेदव्यास जयन्तीसमेत मनाइन्छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने महर्षि वेदव्यासको जन्म आषाढ शुक्ल पूर्णिमाकै दिन भएको धार्मिक विश्वास छ।

महर्षि व्यासले पुराण तथा महाभारतमार्फत मानवतावादी सन्देश दिएका थिए। उनका अनुसार–
“परोपकार पुण्याय, पापाय परपीडनम्”
अर्थात् अरूको उपकार गर्नु धर्म हो भने अरूलाई पीडा दिनु पाप हो।

पाँचौँ वेदका रूपमा मानिने महाभारतका रचनाकारसमेत रहेका व्यासको योगदानको स्मरण गर्दै आज विभिन्न गुरुकुल, शिक्षालय तथा धार्मिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गर्दैछन्।

यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गरिने फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१६ घण्टा अगाडि

1.0kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
135 Shares