सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न

काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन मनोरञ्जन व्यवसायलाई राति ११ बजेभित्र अनिवार्य बन्द गर्ने जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ।

गत असार ३० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय बासिन्दाको गुनासो, सार्वजनिक शान्ति र सुरक्षालाई मध्यनजर गर्दै सुन्धारा क्षेत्रका रात्रिकालीन व्यवसायको सञ्चालन समय निर्धारण गर्ने निर्णय गरेको थियो। बैठकमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेसहित नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।

सुरक्षा समितिको सात बुँदे निर्णयमध्ये दोस्रो बुँदामा डान्सबार, क्लब, दोहोरी, लाउन्ज तथा बारहरू राति ११ बजेभित्र बन्द गराउने स्पष्ट उल्लेख गरिएको थियो। तर निर्णय भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि सुन्धाराका विभिन्न स्थानमा रहेका यस्ता व्यवसायहरू राति अबेरसम्म सञ्चालन भइरहेको पाइएको छ।

स्रोतका अनुसार बाहिरी रूपमा प्रहरी अनुगमन र निर्देशन कडा देखिए पनि केही स्थानमा भित्री रूपमा समयसीमा उल्लंघन गर्दै व्यवसाय सञ्चालन भइरहेको छ। यसले जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वयन क्षमता र सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

सुरक्षा समितिले गरेको निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारी नेपाल प्रहरीको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकस्तरमा असन्तुष्टि बढ्न थालेको छ। निर्णय कागजमा मात्रै सीमित हुने हो कि भन्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।

रात्रिकालीन व्यवसाय सञ्चालनमा देखिएको कमजोरीले प्रहरीको निष्पक्षता, अनुगमन प्रणाली र जिम्मेवारी निर्वाहमाथि समेत प्रश्न उठाएको छ। स्थानीयवासीहरूले शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले गरिएको निर्णय तत्काल प्रभावकारी रूपमा लागू गर्न माग गरेका छन्।

सात बुँदे निर्णयमध्ये कार्यान्वयनमा जोड दिइएको बुँदा नै बेवास्ता

जिल्ला सुरक्षा समितिले शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यसहित सात वटा निर्णय गरेको थियो। जसमा सुरक्षा निकायबीच समन्वय बढाउने, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रण गर्ने, मनसुनजन्य विपद्को तयारी गर्ने, उद्धार तथा राहत व्यवस्थापन गर्ने, काठमाडौं महानगरपालिकासँग समन्वय गरी शहरी व्यवस्थापनमा सहयोग गर्ने तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउने विषय समेटिएका थिए।

तर तीमध्ये सुन्धारा क्षेत्रका रात्रिकालीन व्यवसायलाई राति ११ बजेभित्र बन्द गराउने निर्णय नै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुले सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

यस क्षेत्रको सुरक्षा जिम्मेवारी प्रहरी वृत्त जनसेवाको मातहतमा पर्छ। काठमाडौं प्रहरी नेतृत्वले समय–समयमा अनुगमन र निर्देशन दिँदै आएको देखिए पनि निर्णय उल्लंघन रोक्न ठोस कदम नचालिएको आरोप छ।

यसैबीच, जनसेवा वृत्तमा खटिएका केही प्रहरी कर्मचारीको गतिविधिमाथि समेत प्रश्न उठ्न थालेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका असई सक्रिय खड्कामाथि न्युरोड क्षेत्रमा सुनचाँदी खरिद गर्न आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोप लागेको छ। यस्ता आरोपबारे सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वयनमा देखिएको कमजोरीले सुरक्षा संयन्त्रप्रतिको जनविश्वासमा असर पर्न सक्ने भन्दै अब अनुगमन र कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
15 Shares