बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा

वीरगञ्ज। भारतसँग सीमा जोडिएको बारा जिल्लाको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालकै एक बोर्डर आउट पोस्ट (बिओपी) मा संगठनको निर्देशनविपरीत ‘घुमुवा’ परिचालन गरी अवैध तस्करीलाई संरक्षण दिएको आरोप सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको नेतृत्वमा केही प्रहरी कर्मचारीलाई अनौपचारिक रूपमा ‘घुमुवा’को भूमिकामा परिचालन गरिएको आरोप छ। तीमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार सुमन पौडेलले सीमावर्ती क्षेत्रमा सक्रिय विभिन्न तस्कर समूहसँग समन्वय गर्दै अवैध सामान ओसारपसारका लागि सहज वातावरण बनाउने र त्यसबापत रकम असुल्ने गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार बलिरामपुर, मुशहार्वा र छातवा नाकाबाट कपडा, औषधि, काजु, प्याज, किराना सामग्री, हार्डवेयर, मोबाइल तथा मोबाइल पार्ट्स, कम्प्युटर पार्ट्सलगायतका सामान अवैध रूपमा नेपाल भित्र्याउने गरिएको छ। यस्तै, ट्याक्टरमार्फत चिनी, कुखुराका चल्लालगायत कृषि तथा पशुपन्छीजन्य सामग्रीसमेत तस्करी हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीय स्रोतहरूका अनुसार ‘घुमुवा’का रूपमा परिचालित कर्मचारीले विभिन्न तस्कर समूहबाट नियमित रूपमा रकम संकलन गरी तस्करीका लागि ‘लाइन’ खुला गराउने गरेका छन्। केही अवस्थामा माथिल्लो तहका अधिकारीहरूको नामसमेत प्रयोग गरी रकम उठाइएको दाबी गरिएको छ।
स्रोतले सहायक हवल्दार पौडेल यसअघि पनि मधेस प्रदेशका विभिन्न सीमावर्ती क्षेत्रमा यस्तै जिम्मेवारीमा खटिएको र सीमावर्ती व्यापारी तथा तस्कर समूहसँग पुरानो सम्पर्क रहेकाले पुनः सोही भूमिकामा परिचालन गरिएको दाबी गरेको छ।
विशेष चासोको विषय के छ भने, सशस्त्र प्रहरी बलका महानिरीक्षकले संगठनभर ‘घुमुवा’ परिचालन नगर्न स्पष्ट निर्देशन दिइसकेको अवस्थामा बिओपी बरैनियामा भने त्यसविपरीत गतिविधि भइरहेको आरोपले संगठनभित्रै चर्चा सुरु भएको स्रोतको भनाइ छ।
यस विषयमा आधिकारिक धारणा लिन सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर समाचार तयार पार्दासम्म उहाँहरूको प्रतिक्रिया प्राप्त हुन सकेन। प्रतिक्रिया प्राप्त भएमा त्यसलाई प्राथमिकताका साथ प्रकाशित गरिनेछ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares