बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न

काठमाडौं । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोक्कालाई एक वर्ष अवधि पूरा नहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशीलसिंह राठौरका अनुसार केही विषयमा बुझ्नुपर्ने भएकाले डीएसपी रोक्कालाई परिसरमा हाजिर गराइएको हो।

डीएसपी रोक्काको स्थानमा मदनजित महरालाई जिम्मेवारी दिएको छ। तर, डीएसपी रोक्का तानिएसँगै बौद्ध क्षेत्रमा लामो समयदेखि उठ्दै आएका अवैध गतिविधि नियन्त्रण र प्रहरीको भूमिकामाथि थप प्रश्न उठ्न थालेका छन्।

स्रोतका अनुसार बौद्ध क्षेत्रमा सञ्चालित केही स्पा तथा मसाज सेन्टरहरूमा कानुनविपरीत गतिविधि हुने गरेको गुनासो पटक–पटक आउने गरेको थियो। ती गतिविधि नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै केही प्रहरी अधिकारीमाथि समेत प्रश्न उठाइएको छ। यद्यपि, यी आरोपहरूको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

डीएसपी रोक्का तानिए पनि बौद्ध वृत्तको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर रेवती पोखरेल र खरेल थरका सईमाथि भने तत्काल कुनै कारबाही वा सरुवाको निर्णय भएको छैन। बौद्ध क्षेत्रमा रहेका सयौं स्पा तथा मसाज सेन्टरको अनुगमन, अनुसन्धान र नियमन गर्ने क्रममा उनीहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको छ।

स्थानीय स्रोत र नागरिकस्तरबाट उठेको प्रश्न छ– यदि बौद्ध क्षेत्रमा भएका गतिविधिबारे अनुसन्धान आवश्यक परेको हो भने जिम्मेवार सबै तहका अधिकारीमाथि समान रूपमा छानबिन हुन्छ कि हुँदैन ? डीएसपी मात्रै तानिएर अन्य जिम्मेवार अधिकारीहरू किन बाहिर छन् ?

प्रहरी नेतृत्वले बौद्ध क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निष्पक्ष छानबिन र दोषी देखिएका जोसुकैलाई कारबाही गर्ने स्पष्ट सन्देश दिनुपर्ने देखिन्छ। एक जना अधिकारीलाई तानेर मात्र समस्या समाधान नहुने भन्दै सम्पूर्ण कमाण्ड संरचना र जिम्मेवारीमाथि समेत समीक्षा गर्नुपर्ने आवाज उठिरहेको छ।

Facebook Comments Box
TOP
15 Shares