प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत साँगा पुलिस स्कुलमा वर्षौंदेखि एउटै प्रहरीको रजाइँ, डीएसपी कार्कीमाथि संरक्षणको आरोप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काजमा रहेका तथा सरुवा–बढुवा भई अन्यत्र पदस्थापन भएका प्रहरी कर्मचारीलाई तत्काल आ–आफ्नो दरबन्दीमा रवाना गर्न स्पष्ट निर्देशन दिए पनि नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोकमा भने उक्त निर्देशन कार्यान्वयन नभएको पाइएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनभित्र आन्तरिक शुद्धीकरण र व्यवस्थापन सुधारको पहलस्वरूप लामो समयदेखि काजमा रहेका तथा अन्यत्र दरबन्दी भएका प्रहरी कर्मचारीलाई यथाशीघ्र फिर्ता पठाउन मातहतका कार्यालयलाई निर्देशन दिइसकेका छन्। तर, साँगा पुलिस स्कुलमा भने वर्षौंदेखि एउटै स्थानमा कार्यरत केही प्रहरी कर्मचारीलाई संरक्षण गरिएको भन्दै गम्भीर प्रश्न उठेको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी दरबन्दी भएका वरिष्ठ सई भगवान कार्की र सिन्धुलीको दुधौली तालिम केन्द्र दरबन्दी भएका वरिष्ठ हवल्दार गणेश केसी लामो समयदेखि नेपाल पुलिस स्कुल साँगामै कार्यरत छन्। उनीहरू क्रमशः सुवेदार मेजर र हवल्दार मेजरको जिम्मेवारीमा रहँदै आएको र वर्षौंसम्म एउटै स्थानमा बस्दा पनि दरबन्दीमा फिर्ता नगरिएको स्रोतको दाबी छ।

स्कुलमा कार्यरत एक जुनियर प्रहरी अधिकृतले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार सोही कार्यालयमा कार्यरत अन्य प्रहरी कर्मचारीलाई भने केही महिनाअघि नै रवाना गरिए पनि लामो समयदेखि बसेका यी दुई कर्मचारीलाई भने निरन्तर थमौती गरिएको छ।

“सरुवा र दरबन्दी व्यवस्थापनमा समान मापदण्ड लागू हुनुपर्ने हो। तर, पहुँच र प्रभाव भएकालाई संरक्षण गर्ने र पहुँच नभएकालाई रवाना गर्ने व्यवहार देखिएको छ,” ती प्रहरी अधिकृतले दाबी गरे।

यसअघि सोही स्कुलमा कार्यरत वरिष्ठ हवल्दार सीताराम शाक्य, मनिकबहादुर थापा तथा हवल्दार रमा भण्डारी, निर्मला घिमिरे र जवान निर्मला कठायतलाई रवाना गरिएको थियो। तर, लामो समयदेखि हवल्दार मेजर र सुवेदार मेजरको जिम्मेवारीमा रहेका कर्मचारीलाई भने निरन्तर राखिएको भन्दै प्रहरीभित्रै असन्तुष्टि बढेको स्रोत बताउँछ।

स्रोतका अनुसार सम्बन्धित तालुकदार कार्यालयबाट पटक–पटक निर्देशन आए पनि उनीहरूलाई दरबन्दीमा फिर्ता पठाउने विषयमा स्कुल प्रशासनले चासो नदेखाएको आरोप छ। अझै गम्भीर आरोप त के छ भने साँगा स्कुलमा दरबन्दी भएका कतिपय प्रहरी कर्मचारीलाई समेत हाजिर हुन नदिइएको प्रहरी स्रोतको दाबी छ।

‘२० वर्षसम्म बसेका प्रहरी पनि छन्, १५ वर्ष त केही होइन’

यस विषयमा नेपाल पुलिस स्कुल साँगाकी कमाण्डेन्ट डीएसपी दिप्ती कार्कीसँग प्रश्न गर्दा उनले आफूले सरुवा भएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयमा पठाइसकेको बताइन्।

तर, १० वर्षभन्दा बढी समयदेखि अन्यत्र दरबन्दी भएर साँगामै कार्यरत रहेका हवल्दार मेजर र सुवेदार मेजरलाई किन रवाना नगरिएको भन्ने प्रश्नमा उनले “२० वर्षसम्म पनि यहाँ प्रहरी बसेका छन्, १५ वर्ष बसेको त केही पनि होइन” भन्ने जवाफ दिएको बताइएको छ।

उनले यस विषयमा आफूले फोनमार्फत थप कुरा नगर्ने भन्दै कार्यालयमै आउन वा प्रहरी प्रवक्तामार्फत जानकारी लिन आग्रह गरिन्।

डीएसपी कार्कीको उक्त अभिव्यक्तिले प्रहरी प्रधान कार्यालयले थालेको आन्तरिक शुद्धीकरण तथा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत प्रहरीको व्यवस्थापनसम्बन्धी नीतिमाथि नै प्रश्न उठाएको छ।

एआईजी बिक भन्छन्– सरुवा भएका प्रहरी अनिवार्य रूपमा दरबन्दीमा जानुपर्छ

यस विषयमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी डम्बरबहादुर बिकसँग बुझ्दा सरुवा भएका प्रहरी कर्मचारीले अनिवार्य रूपमा रवाना लिएर आफ्नो दरबन्दी भएको स्थानमा जानुपर्ने स्पष्ट व्यवस्था रहेको बताए।

प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार सरुवा भएका कर्मचारीलाई सम्बन्धित कार्यालयले रवाना दिनुपर्ने र उनीहरू दरबन्दीमा हाजिर हुनुपर्ने भन्दै एआईजी बिकले साँगा पुलिस स्कुलमा के भएको हो भन्ने विषयमा आफूले थप बुझ्ने बताए।

यसैबीच, हवल्दार मेजर गणेश केसी र सुवेदार मेजर वरिष्ठ सई भगवान कार्कीलाई लामो समयसम्म एउटै कार्यालयमा राखिएको तथा अन्य कर्मचारीलाई भने रवाना गर्ने क्रममा भेदभाव गरिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयमा समेत गुनासो पुगेको प्रहरी स्रोतले जनाएको छ।

महानिरीक्षकको सचिवालयमा पुगेको गुनासोमा वर्षौंदेखि एउटै स्थानमा कार्यरत कर्मचारीलाई किन रवाना नगरिएको र अन्य कर्मचारीको हकमा फरक व्यवहार किन गरिएको भन्ने प्रश्न उठाइएको बताइएको छ।

सचिवालयले गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे आवश्यक जानकारी लिने प्रतिक्रिया दिएको स्रोतको दाबी छ।

प्रहरी संगठनमा आन्तरिक शुद्धीकरण, अनुशासन र समान मापदण्ड लागू गर्ने दाबी भइरहेका बेला प्रहरी प्रधान कार्यालयकै निर्देशनलाई एउटा प्रहरी कार्यालयले बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि अब साँगा पुलिस स्कुलमा वर्षौंदेखि एउटै स्थानमा रहेका प्रहरी कर्मचारीको काज, दरबन्दी र जिम्मेवारीबारे छानबिन हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ।

विशेषगरी सरुवा भएका कर्मचारीलाई तत्काल दरबन्दीमा फिर्ता गर्ने प्रहरी प्रधान कार्यालयको निर्देशन कार्यान्वयन गराउन नसकिएमा संगठनभित्रै समानता र अनुशासनको नारा व्यवहारमा कति लागू हुन्छ भन्ने विषयमा समेत गम्भीर प्रश्न खडा हुने देखिएको छ।

Facebook Comments Box
TOP
15 Shares