

पत्रकार पक्राउप्रति शंकर पोखरेलको आपत्ति, ‘समाचार लेखेकै आधारमा गिरफ्तारी प्रेस स्वतन्त्रताविरोधी’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाचार लेखेको वा प्रकाशित गरेको विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्नु पूर्ण रूपमा गैरकानुनी तथा प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताएका छन्।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई बुधबार ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले उनको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका हुन्।
पोखरेलले श्रेष्ठमाथिको गिरफ्तारीलाई ‘गैरन्यायिक र प्रतिशोधपूर्ण’ कदमको संज्ञा दिँदै समाचारप्रति असहमति भए त्यसलाई कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन्।
उनले समाचारको विषयवस्तु वा स्रोतप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने वा कानुनी उपचार खोज्ने पर्याप्त विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु उचित नभएको उल्लेख गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ, त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ। तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रता विरोधी कदम हो।’
उनले पक्राउ परेका पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न समेत माग गरेका छन्।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउपछि पत्रकार महासंघसहित विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय उठाउँदै विरोध जनाउन थालेका छन्।
समाज
थप सामाग्री
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
२१ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ…





