आज देशभर मनसुनी गतिविधि सक्रिय, विभिन्न प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज बिहीबार विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थित छ।

महाशाखाका अनुसार अहिले मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ।

हाल कोशी र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

दिउँसो तथा रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा समेत थोरै स्थानमा मध्यमसम्म वर्षा हुनुका साथै हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मनसुनी गतिविधि सक्रिय रहेकाले वर्षाका कारण सडक तथा यातायातमा प्रभाव पर्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Facebook Comments Box
TOP
15 Shares