आईजीपी कार्की चार एआईजीसहित सभामुख भेट्न सिंहदरबार पुगे

काठमाडौं । सार्वजनिक लेखा समिति बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी पोसाक तथा जुत्ता–मोजा खरिदमा अनियमितताको आरोप लगाएपछि नेपाल प्रहरीको नेतृत्वले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की चार जना एआईजीसहित सिंहदरबार पुगेर सांसद सुनारको अभिव्यक्ति र व्यवहारबारे सभामुखसमक्ष आपत्ति जनाएका हुन्।

बुधबारको बैठकमा सांसद सुनारले म्यादी प्रहरी तथा नेपाल प्रहरीका लागि पोसाक, जुत्ता र मोजा खरिदमा अर्बौँ रुपैयाँ अनियमितता भएको आरोप लगाउँदै छानबिन नसकिँदासम्म आईजीपी कार्की र गृहसचिवलाई जिम्मेवारीबाट अलग गर्नुपर्ने माग गरेका थिए। नेपाल प्रहरीले भने प्रमाणबिना वा बेनामे उजुरीका आधारमा संगठनको नेतृत्वमाथि मानमर्दन हुने गरी व्यवहार गरिएको भन्दै आपत्ति जनाएको छ।

यसैबीच, पूर्वप्रहरी महानिरीक्षक मञ्चलगायत पूर्वप्रहरी संगठनहरूले पनि सांसद सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमाविपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन्। गृहमन्त्री सुधन गुरुङले समेत आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्न नहुने र प्रमाणित नभएसम्म चरित्रमा असर पर्ने गरी निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्।

यता सांसद सुनारले भने आफू सिपाही र म्यादी प्रहरीको पक्षमा रहेको दाबी गर्दै खरिद अनियमिततामा आरोप लागेका व्यक्तिले प्रवचन नभई बयान दिनुपर्ने अडान दोहोर्‍याएका छन्। प्रहरी नेतृत्वको आपत्ति र सांसदको अडानसँगै यो घटनाले संसदीय समितिमा प्रश्न उठाउने अधिकार, प्रहरी संगठनको जवाफदेहिता र सार्वजनिक पदमा रहने व्यक्तिबीचको मर्यादाबारे बहस थप चर्काएको छ।

Facebook Comments Box
TOP
Shares