उद्धारमा प्रविधिको अभावले धेरैको ज्यान जोगाउने अवसर गुम्यो : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरीसँग आफ्नै हेलिकप्टर र आधुनिक खोज तथा उद्धार उपकरण नहुँदा उद्धार कार्यमा कठिनाइ भएको बताएका छन्।

हालैको विनाशकारी प्राकृतिक विपद्का क्रममा उद्धारमा खटिएको अनुभव सुनाउँदै आईजीपी कार्कीले राज्यले सुरक्षा निकायलाई आधुनिक प्रविधि, उपकरण र आवश्यक स्रोतसाधनले सम्पन्न बनाउनुपर्नेमा जोड दिएका हुन्।

एक अन्तर्वार्तामा उनले प्रहरीसँग आफ्नै उद्धार हेलिकप्टर तथा भत्किएका संरचनाभित्र मानिसको अवस्थाबारे पत्ता लगाउन सक्ने आधुनिक ‘कोल्याप्स्ड स्ट्रक्चर सर्च’ उपकरण भएको भए उद्धार अझ छिटो र प्रभावकारी बनाउन सकिने बताए।

“हामीसँग आफ्नै उद्धार हेलिकप्टर र भत्किएका संरचनाभित्र हेर्न मिल्ने आधुनिक ‘कोल्याप्स्ड स्ट्रक्चर सर्च’ डिभाइसहरू भइदिएको भए उद्धार अझ छिटो र प्रभावकारी हुन्थ्यो,” कार्कीले भने, “प्रविधिको अभावले चाहेर पनि धेरै ठाउँमा समयमै पुग्न सकेनौँ।”

विकसित मुलुकमा विपद्का बेला तत्काल परिचालन हुने ‘स्विफ्ट रेस्पोन्स’ संयन्त्रको उदाहरण दिँदै उनले नेपाल प्रहरीमा पनि उद्धार हेलिकप्टरसहित विशेष तालिम प्राप्त टोलीको स्थायी व्यवस्था आवश्यक रहेको बताए।

कार्कीका अनुसार विपद्मा नागरिकको उद्धारमा खटिएका प्रहरी कर्मचारीसमेत ठूलो संख्यामा प्रभावित भएका छन्। ड्युटीकै क्रममा २८ जना प्रहरी कर्मचारी बेपत्ता भएकोमा हालसम्म तीन जनाको शव फेला परेको२५ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए।

“हाम्रा कर्मचारीहरू आफ्नो ज्यानको प्रवाह नगरी नागरिकलाई बचाउन लाग्दालाग्दै बगाइएका छन्,” उनले भने।

बाढी र पहिरोले बगाएर ल्याएको गेग्रान तथा बालुवाभित्र मानिस पुरिएको आशंका भए पनि जमिनमुनि खोजी गर्न सक्ने आधुनिक उपकरणको अभावमा खोज तथा उद्धार कार्य निकै कठिन बनेको कार्कीको भनाइ छ।

विपद्को ११औँ दिनमा एक वृद्धाको जीवितै उद्धार हुनुले उद्धारमा आशा कायम राखेको उल्लेख गर्दै उनले प्रभावकारी खोजीका लागि अन्तर्राष्ट्रियस्तरका आधुनिक प्रविधि र उपकरण आवश्यक रहेको बताए।

आईजीपी कार्कीले आगामी दिनमा यस्ता विपद्को सामना गर्न केवल सुरक्षाकर्मीको मनोबल र साहसले मात्र नपुग्ने बताए। प्रहरीसँग सञ्चार सम्पर्क नहुने स्थानमा काम गर्नुपर्ने अवस्था, हिलो तथा कठिन भूगोलमा प्रयोग गर्न मिल्ने विशेष जुत्ता–कपडालगायत आधारभूत सामग्रीको समेत अभाव रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले सुरक्षा निकायको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा राज्यले दीर्घकालीन लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

Facebook Comments Box
TOP
15 Shares