

भदौ २४ का दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएका आगजनी, तोडफोड, लुटपाट तथा विध्वंसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म आफूले आवाज उठाउन नछाड्ने बताएका छन्।
भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो घरमा लुटपाट तथा आगजनी भइरहेको भिडियो सार्वजनिक गर्दै बस्नेतले घटनाका पीडितले अहिलेसम्म न्याय र क्षतिपूर्ति पाउन नसकेको दाबी गरेका हुन्।
बस्नेतका अनुसार उक्त दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचनामा आगजनी हुनुका साथै सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय र ४ सयभन्दा बढी नागरिकका घर तथा सम्पत्तिमा क्षति पुर्याइएको थियो।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय र मेरो लगायत ४ सयभन्दा बढी नागरिकका घर–सम्पत्ति खरानी बनाइए।”
घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही हुन नसकेको भन्दै बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्।
“एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन्। अपराधीमाथि कारबाही भएन। यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु,” उनले भनेका छन्।
बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति समेत असन्तुष्टि जनाएका छन्। उनले ‘त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेलेको’ आरोप लगाएका छन्।
भदौ २४ लाई इतिहासको ‘कालो दिन’ को संज्ञा दिँदै बस्नेतले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै राजनीतिक आवरणमा भए पनि कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।
“अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन,” बस्नेतले भनेका छन्।
राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै उनले पीडितलाई न्याय र क्षतिपूर्ति तथा दोषीलाई जवाफदेही बनाउनुपर्ने माग दोहोर्याएका छन्।
“न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन,” उनले भनेका छन्।
समाज
थप सामाग्री
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
१ दिन अगाडि
1.2kViews 45 Shares Share on Facebook Share on Twitter बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध…





