बाढीको मौका छोपेर पर्साका सीमावर्ती नाकाबाट पशु तस्करी बढेको आरोप

वीरगञ्ज । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्र उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित भइरहेका बेला पर्साका पश्चिमी ग्रामीण क्षेत्रका सीमावर्ती नाकाबाट गाई–भैंसीको अवैध ओसारपसार बढेको आरोप लागेको छ।स्थानीय स्रोतका अनुसार पर्साका मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाकाबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ दुहुना गाई–भैंसीको अवैध ओसारपसार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायको ध्यान केन्द्रित भएको मौका छोपेर सीमावर्ती क्षेत्रमा पशु तस्करी बढेको स्थानीयको दाबी छ।स्रोतका अनुसार तस्करीमा संलग्न समूहले सीमावर्ती खेत, कच्ची तथा वैकल्पिक बाटो प्रयोग गर्दै रातको समयमा मात्रै नभई दिनमै समेत अनुकूल समय मिलाएर पशु ओसारपसार गर्ने गरेका छन्। यसले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको निगरानी र कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ।

बीओपी प्रमुख कार्कीमाथि मिलोमतोको आरोप
मिर्जापुरस्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीमाथि तस्करीमा संलग्न समूहसँग मिलोमतो गरेको गम्भीर आरोप लगाइएको छ।
स्रोतले तस्करीका लागि निश्चित समय र बाटो उपलब्ध गराउने, तस्करी सम्पन्न भएपछि मात्र सम्बन्धित क्षेत्रमा पुग्ने तथा तस्करीमा संलग्न व्यक्तिसँग सम्पर्क र सूचना आदानप्रदान गर्ने गरेको आरोप लगाएको छ। रकम संकलनका लागि यादव थरका दुई जना स्थानीय व्यक्ति परिचालन गरिएको दाबीसमेत स्रोतको छ।
कार्कीले नेपाली मोबाइल नम्बरबाट हुने सम्पर्क अनुसन्धानको दायरामा पर्न सक्ने भन्दै भारतीय सिमकार्ड प्रयोग गरी तस्करीमा संलग्न व्यक्तिसँग सम्पर्क गर्ने गरेको सूचना प्राप्त भएको स्रोतको दाबी छ।
त्यसैगरी, बीओपी प्रमुखसम्म तस्करीसम्बन्धी सूचना पुगिसकेपछि समेत विभिन्न बहाना बनाएर कारबाहीमा ढिलाइ गर्ने र सुरक्षा निकायमा पुगेका सूचना तस्कर समूहसम्म पुग्ने गरेको आरोपसमेत लगाइएको छ। यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
किसानका पशु नियन्त्रणमा लिएर सक्रियता देखाएको आरोप
स्थानीयका अनुसार मिर्जापुर बीओपीले किसानका गाई–भैंसी नियन्त्रणमा लिएर कारबाही गरेको देखाउँदै आफ्नो सक्रियता प्रस्तुत गर्ने गरेको छ। तर, संगठित रूपमा भइरहेको भनिएको पशु तस्करी नियन्त्रणमा भने प्रभावकारी निगरानी नगरेको आरोप उनीहरूको छ।
स्थानीयले वास्तविक किसानका पशु नियन्त्रणमा लिनुभन्दा सीमावर्ती क्षेत्रबाट हुने संगठित अवैध ओसारपसारको पहिचान, निगरानी र नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘हेलो सरकार’मा उजुरी परेको दाबी
सशस्त्र प्रहरी निरीक्षक कार्कीमाथि पशु तस्करीमा मिलोमतो गरेको आरोप लगाउँदै ‘हेलो सरकार’मा समेत उजुरी परेको दाबी गरिएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उजुरीपछि मिर्जापुर बीओपीमा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा छानबिन टोली पुगेको थियो। तर, टोलीले आरोपबारे प्रभावकारी अनुसन्धान नगरी केही मिनेटमै फर्किएको स्रोतको आरोप छ।
यद्यपि, छानबिन टोली कुन विषयमा गएको थियो, उसले के–कस्तो अनुसन्धान गर्‍यो र त्यसको निष्कर्ष के रह्यो भन्नेबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक भएको छैन।
‘माथिल्लो तहसम्म रकम पुग्ने’ आरोप
स्रोतले पर्साका सीमावर्ती नाकाबाट हुने भनिएको भैंसी तस्करीबाट उठाइएको रकम सुरक्षा निकायको माथिल्लो तहसम्म पुग्ने गरेको आरोपसमेत लगाएको छ। तर रकम कसलाई, कति र कुन माध्यमबाट पुग्ने गरेको हो भन्नेबारे हालसम्म कुनै स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन।
मिर्जापुर, भेडिहरवा, टिहुकी र भलुवहिया नाकाबाट भइरहेको भनिएको गाई–भैंसीको अवैध ओसारपसार तथा बीओपी प्रमुख कार्कीमाथि लागेको मिलोमतोको आरोपले सीमा सुरक्षाको प्रभावकारिता र सुरक्षा संयन्त्रको जवाफदेहितामाथि प्रश्न उठाएको छ।
स्थानीयले आरोपको निष्पक्ष र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। आरोप पुष्टि भए संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र आरोप पुष्टि नभए सम्बन्धित अधिकारीमाथि लागेको आरोपबारे पनि स्पष्ट पारिनुपर्ने उनीहरूको भनाइ छ।
सम्बन्धित निकायबाट आधिकारिक धारणा र छानबिनको निष्कर्ष सार्वजनिक नभएसम्म माथि उल्लेखित आरोपलाई पुष्टि भएको तथ्यका रूपमा लिन मिल्ने अवस्था छैन।

Facebook Comments Box
TOP
15 Shares