डोना हिमतालको जोखिमले बढायो मर्स्याङ्दी तल्लो तटीय क्षेत्रमा बाढीको त्रास

काठमाडौं । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रमा बाढीको सम्भावित जोखिमबारे चासो बढाएको छ। डोना (थुलागी) हिमतालमा हिमताल विस्फोटजन्य बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै मनाङ, लमजुङसहित गोरखा र तनहुँसम्म पर्न सक्ने भएकाले जोखिमको पुनः अध्ययन, नियमित अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको छ।

मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनअनुसार करिब ०.९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त तालको सन् २०१७ मा गरिएको सर्वेक्षणमा अधिकतम गहिराइ ७६ मिटर मापन गरिएको थियो। तर, अध्ययन केही वर्ष पुरानो भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल आसपासको भौगोलिक संरचनामा आएको परिवर्तनबारे पुनः स्थलगत अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको हो।

नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त भए पनि तत्कालै विस्फोट हुने अवस्था भने देखिएको छैन। उनका अनुसार तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै विस्तार भइरहेको छ।

‘ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,’ गुरुङले भने।

तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि आवश्यक संरक्षण तथा जोखिम न्यूनीकरणका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए। प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि पहल भइरहेको तथा स्थानीयवासीलाई सम्भावित जोखिमबारे जानकारी गराउने र सचेत बनाउने काम भइरहेको उनको भनाइ छ।

मनास्लु हिमालको फेदीमा रहेको डोना हिमताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यसमेत बनेको छ। विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक करिब २०० जना ताल क्षेत्रमा पुग्ने गरेका छन्।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेकाले यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन र आवश्यक पहल गर्नुपर्ने बताएका छन्। तालमा बालुवा तथा माटो थुप्रिँदै जानु चिन्ताको विषय बनेको उनको भनाइ छ।

‘ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन,’ उनले भने, ‘जुनसुकै बेला जोखिम हुनसक्छ।’

खनालका अनुसार जिल्लामा सामान्य विपद् प्रतिकार्यको तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने स्रोतसाधन र क्षमता सीमित छ। जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनले बताए।

ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनको भनाइ छ। लालुपाते हाइड्रोपावरले डोना ताल आसपास जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा समेत अध्ययन भइरहेको उनले जानकारी दिए।

हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अवस्था अहिले बढेको वा घटेको भन्ने विषय स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताएका छन्। जोखिमयुक्त हिमतालको अवस्था दुई–तीन वर्षको अन्तरालमा नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरेर त्रिशूली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने सम्भावित ठूलो बाढीलाई हिमताल आसपासको जोखिममा मात्र सीमित नराखी तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मर्स्याङ्दी नदीमा ठूलो बाढी आएको अवस्थामा जिल्लाको तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने बताएका छन्।

‘मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन्,’ उनले भने, ‘ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन।’

उनका अनुसार ठूलो आयामको विपद् आएमा जिल्लामा उपलब्ध स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्छ। त्यसैले पूर्वसूचना प्रवाह र मानवीय जीवनको सुरक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी आवश्यक रहेको उनले बताए।

मर्स्याङ्दी नदी आसपासमा बाक्लो बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजना रहेकाले डोना हिमतालको सम्भावित जोखिमलाई तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिएको छ। हिमतालको वर्तमान अवस्था यकिन गर्न वैज्ञानिक अध्ययनसँगै नियमित अनुगमन, सम्भावित बाढीको पूर्वानुमान, प्रभाव क्षेत्र पहिचान र स्थानीयदेखि तल्लो तटीय जिल्लासम्म प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको हो।

Facebook Comments Box
TOP
15 Shares