डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै

काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न तहका अधिकारीको सरुवाको गृहकार्य अघि बढाएको छ। अवधि पुगेका कार्यालय प्रमुख तथा इन्चार्जलाई जिम्मेवारीबाट परिवर्तन गर्दै नयाँ अधिकारीलाई जिम्मेवारी दिने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले डीआईजीदेखि इन्सपेक्टरसम्मका अधिकारीको सरुवा गर्ने तयारी थालेको हो। विशेषगरी एक वर्षको अवधि पूरा गरेका प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा विभिन्न कार्यालयका इन्चार्जलाई सरुवा गर्ने तयारी भइरहेको बताइएको छ।

स्रोतका अनुसार कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी र लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीको सरुवा हुने तयारी छ। लुम्बिनीका डीआईजी खत्रीको सरुवापछि उक्त जिम्मेवारीमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेलाई पठाउने तयारी भइरहेको स्रोतको दाबी छ।

त्यस्तै बागमती प्रदेशमा डीआईजी सुदर्शन कोइराला र कर्णाली प्रदेशमा डीआईजी विश्व अधिकारीलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रहरीभित्र महत्वपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वसमेत परिवर्तन हुने सम्भावना छ। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले एक वर्षको अवधि पूरा गरिसकेकाले उनको स्थानमा नयाँ एसएसपी ल्याउने तयारी भइरहेको बताइएको छ।

गत वर्ष जेनजी आन्दोलनलगत्तै अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका खड्काले एक वर्ष जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो समय मुद्दा अभियोजन तथा अनुसन्धानसँग सम्बन्धित थप अधिकारसमेत प्राप्त गरेको उक्त कार्यालयको नेतृत्वका लागि एसएसपी तहका अधिकारीबीच प्रतिस्पर्धा देखिएको स्रोत बताउँछ।

यसैगरी विभिन्न जिल्लाका प्रहरी प्रमुखसमेत परिवर्तन गर्ने तयारी भइरहेको छ। स्रोतका अनुसार मोरङका एसपी कवित कटवाल, भक्तपुरका एसपी सूर्यबहादुर खड्का, कास्कीका एसपी नवीन कार्की, पूर्वी नवलपरासीका एसपी युवराज खड्का, दाङका एसपी दीपक श्रेष्ठ, पाल्पाका एसपी दिपेन्द्र पञ्जियार, बाँकेका एसपी अंगुर जिसी तथा कैलालीका एसपी नरेन्द्र चन्दलगायतको सरुवा हुने सम्भावना छ।

प्रहरी प्रधान कार्यालयले एक वर्ष अवधि पूरा गरेका पहाडी जिल्लाका डीएसपी तथा इलाका प्रहरी कार्यालय र प्रहरी वृत्तका इन्चार्जलाई समेत परिवर्तन गर्ने तयारी गरेको छ। त्यसैगरी ठूलो संख्यामा इन्सपेक्टरको सरुवा पनि असोजको पहिलो सातातिर हुने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ।

सरुवाको अन्तिम सूची भने गृह मन्त्रालयसँगको समन्वय र आवश्यक निर्णयपछि मात्रै सार्वजनिक हुने बताइएको छ। अवधि पुगेका कार्यालय प्रमुखलाई नियमित प्रक्रियाअन्तर्गत परिवर्तन गर्न लागिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

Facebook Comments Box
TOP
30 Shares