
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । विघ्नहर्ता तथा अग्रपूजाका अधिकारी भगवान् श्रीगणेशको जन्मोत्सवका रूपमा मनाइने गणेश चतुर्थी पर्व आज देशभर श्रद्धा र भक्तिभावपूर्वक मनाइँदैछ। पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशका प्रमुख गणेश मन्दिरमा बिहानैदेखि पूजा–आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।
शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो। यही मान्यताअनुसार प्रत्येक वर्ष यस दिन गणेशको विशेष पूजा–आराधना गरी जन्मोत्सव मनाउने गरिन्छ। काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशस्थानलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजाआजा भइरहेको छ।
शिव–पार्वतीका पुत्र गणेशलाई हिन्दू धर्मशास्त्रमा जुनसुकै धार्मिक तथा शुभ कर्मको प्रारम्भमा सबैभन्दा पहिले पूजा गरिने देवताका रूपमा मानिन्छ। गणेशको पूजा गरेमा कार्यमा आउने विघ्न हट्ने र सफलता प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पारायणपछि चतुर्थीका दिन गणेशको व्रत र पूजा गर्ने शास्त्रीय परम्परा छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन, पारिवारिक सुख–शान्ति र समृद्धिको कामना गर्दै व्रत बसेका महिलाले चतुर्थीका दिन जीवनमा कुनै पनि विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको उहाँले बताउनुभयो।
मंगलबार परेको गणेश चतुर्थीलाई ‘मंगल चतुर्थी’ समेत भनिन्छ। नेवार समुदायले यस पर्वलाई ‘चथा’ पर्वका रूपमा मनाउने गरेका छन्। यस दिन विशेषगरी बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ। यस वर्ष गणेश चतुर्थी मंगलबार परेको भएकाले धार्मिक दृष्टिले यसको थप महत्व रहेको जनाइएको छ।
गणेश चतुर्थीका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले पनि विभिन्न धार्मिक कार्यक्रम आयोजना गरेको छ। धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार विसं २०६५ देखि संस्थाले नियमित रूपमा गणेश चतुर्थीका अवसरमा पूजा–आराधना, प्रवचनलगायत कार्यक्रम गर्दै आएको छ।
आज विभिन्न गणेश मन्दिरमा संस्थाका तर्फबाट विशेष पूजा–आराधना तथा धार्मिक प्रवचनका कार्यक्रम सञ्चालन भइरहेका छन्। राष्ट्रिय धर्मसभाले विसं २०६५ देखि गणेश रथयात्रासमेत गर्दै आएको छ। सामान्यतः गणेश रथयात्रा भाद्र शुक्ल पञ्चमीका दिन गरिने भए पनि यस वर्ष पञ्चमी तिथिसमेत आजै परेको जनाइएको छ। त्यसैले गणेश रथयात्रा पनि आजै आयोजना गरिँदैछ।
गणेश चतुर्थीका अवसरमा बिहानैदेखि मन्दिरमा पुगेर भक्तजनले विधिपूर्वक गणेशको पूजा, आराधना तथा दर्शन गरिरहेका छन्। विघ्नहर्ता गणेशको आराधनाले जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त हुने धार्मिक विश्वासका साथ भक्तजनले श्रद्धापूर्वक पर्व मनाइरहेका छन्।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





