हंसपुरमा उपप्रमुखलाई धम्कीको आरोपदेखि औरहीमा घुस प्रकरणसम्म विवादमा तानिएका झा अब छिपहरमाईमा

विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सर्वजीत कुमार झा आउने भएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत झालाई छिपहरमाईमा सरुवा गरिएको हो।

छिपहरमाईका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको सरुवा सर्लाहीको पर्सा गाउँपालिकामा भएपछि उनको स्थानमा झालाई ल्याउन लागिएको हो।

विभिन्न स्थानीय तहमा कार्यरत रहँदा विवाद र आरोपमा तानिएका झाको छिपहरमाई आगमनलाई चासोका साथ हेरिएको छ। पछिल्लो समय धनुषाको हंसपुर नगरपालिकामा उपप्रमुख दुर्गीदेवी मण्डललाई सेवासुविधा रोक्ने धम्की दिएको आरोप लागेपछि झा विवादमा आएका थिए।

उपप्रमुख मण्डलका अनुसार राजस्व परामर्श समितिको निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि झाबाट सेवासुविधा रोक्ने चेतावनी आएको थियो। पोखरी तथा एम्बुलेन्सबाट प्राप्त आम्दानी सार्वजनिक गर्न माग गरेपछि विवाद बढेको उनको दाबी छ।
नगरका केही जनप्रतिनिधिले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आर्थिक अपारदर्शिताको आरोपसमेत लगाएका थिए।

यसअघि सिरहाको औरही गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा झामाथि कर्मचारी तथा सेवाग्राहीबाट घुस/कमिसनबापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको आरोप सार्वजनिक भएको थियो। केही कर्मचारीले भुक्तानीका चेकमा हस्ताक्षर गर्नुअघि रकम मागिएको दाबी गरेका थिए।

झाले भने बैंक खातामा रकम जम्मा गर्न लगाएको स्वीकार गर्दै उक्त रकम घुस वा कमिसन नभई आफूले दिएको सापटी फिर्ता लिएको दाबी गरेका थिए। उनले आवश्यक परे छानबिन सामना गर्न तयार रहेको बताएका थिए।

झा यसअघि धनुषाको जनकनन्दिनी गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। जनकनन्दिनीमा उनको कार्यकाल छोटो रह्यो भने लक्ष्मीनियाँमा प्रशासनिक जिम्मेवारीलाई लिएर विवाद भएको थियो। कञ्चनरूपमा समेत छोटो समयमै उनको सरुवा भएको थियो।

यसरी पटक–पटक कार्यस्थल परिवर्तन र विभिन्न विवादसँग जोडिँदै आएका झा अब छिपहरमाईको प्रशासनिक नेतृत्वमा आउन लागेका हुन्।

छिपहरमाईमा पनि विगतमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकाल र प्रशासनिक व्यवस्थापनलाई लिएर प्रश्न उठ्दै आएका छन्। यस्तो पृष्ठभूमिमा झाको नयाँ जिम्मेवारीमा सुशासन, पारदर्शिता र सेवा प्रवाह कायम गर्नु प्रमुख चुनौती हुने देखिएको छ।

झामाथि विगतमा सार्वजनिक भएका घुस, कमिसन र धम्कीसम्बन्धी विषय आरोप तथा सम्बन्धित व्यक्तिका दाबी हुन्। ती आरोप कानुनी रूपमा प्रमाणित भएको निष्कर्षका रूपमा प्रस्तुत गरिएको होइन।

Facebook Comments Box
TOP
Shares