ग्रिन आर्मीको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, असोज ५ मा दुवै पक्षलाई बोलाइयो

काठमाडौं । ग्रिन आर्मी नेपालको वैधानिकता, संस्थागत संरचना तथा सैनिक शैलीको पोसाक र दर्ज्यानी चिह्न प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। विवादमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई असोज ५ गते उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको हो। अदालतले अन्तरिम आदेश आवश्यक पर्ने वा नपर्ने विषयमा दुवै पक्षको धारणा सुनेपछि निर्णय गर्ने भएको छ।
ग्रिन आर्मीले नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना प्रयोग गरेको विषयलाई लिएर प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको हो। रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित सरकारी निकाय तथा ग्रिन आर्मी नेपाललाई संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा र गतिविधिको कानुनी आधार स्पष्ट पार्न भनेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहत कार्यमा ग्रिन आर्मीका सदस्यहरू सैनिक शैलीको पोसाक र दर्ज्यानी चिह्नसहित परिचालित भएको दृश्य सार्वजनिक भएपछि संस्थाको कानुनी हैसियत, कार्यक्षेत्र र गतिविधिबारे प्रश्न उठेको थियो। विशेषगरी सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग गर्ने अधिकार संस्थालाई कुन कानुनी आधारमा प्राप्त भयो भन्ने विषय विवादको केन्द्रमा आएको छ।
विवाद बढ्दै गएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले समेत ग्रिन आर्मी नेपाललाई नाम परिवर्तन गर्न पत्राचार गरेको बताइएको छ। कार्यालयले ३५ दिनभित्र संस्थाको नाम परिवर्तन गर्न निर्देशन दिएको जनाइएको छ।
अब असोज ५ गते हुने छलफलमा रिट निवेदक तथा विपक्षी पक्षको धारणा सुनेपछि सर्वोच्च अदालतले ग्रिन आर्मीका गतिविधि तत्काल रोक्ने वा यथावत् सञ्चालन गर्न दिने भन्ने विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ।
यससँगै ग्रिन आर्मी नेपालको दर्ता, संस्थागत हैसियत, सैनिक प्रकृतिको पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग र विपद्का बेला उद्धार तथा राहतमा परिचालन हुने कानुनी अधिकारबारे सर्वोच्चको निर्णयलाई चासोका साथ हेरिएको छ।

Facebook Comments Box
TOP
15 Shares