
परराष्ट्रले टुंग्यायो राजदूतको अन्तिम सूची, रवि–बालेन सहमति अझै बाँकी

काठमाडौं । लामो समयदेखि रिक्त रहेका नेपाली राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगे पनि राजनीतिक सहमति जुट्न नसक्दा नाम सिफारिस गर्ने प्रक्रिया अझै टुंगिन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले रिक्त २२ मध्ये २१ देशका लागि राजदूत नियुक्त गर्न आवेदन, छनोट तथा मूल्यांकन प्रक्रिया पूरा गरी अन्तिम सूची तयार गरेर माथिल्लो तहमा बुझाएको छ । तर मन्त्रालयले तयार पारेको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अझै पूर्ण सहमति बन्न बाँकी रहेको उच्च स्रोतको दाबी छ ।
‘हामीले त फाइनल गरेर दिएका हौं । तर माथिल्लो तहबाट एउटा नाम र देश यताउता गर्दा चेसको गोटी सरेको सर्यै जस्तो भएको छ,’ उच्च स्रोतले भन्यो ।
मन्त्रालयले राजनीतिक नेतृत्वलाई निर्णय गर्न सहज होस् भनेर केही देशका लागि मुख्य तथा वैकल्पिक नामसमेत सिफारिस गरेको बताइएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले रास्वपा सभापति लामिछाने तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग अन्तिम सूचीका विषयमा छलफल गरिरहेका छन् ।
रास्वपा उच्च स्रोतका अनुसार सभापति लामिछानेले केही सम्भावित राजदूतका नाम र उनीहरूको पृष्ठभूमिबारे चासो राखे पनि सरकारको प्राथमिकता र रुचिलाई ध्यानमा राख्दै नियुक्ति प्रक्रियामा अनावश्यक हस्तक्षेप नगर्ने नीति लिएका छन् ।
लामिछानेले व्यक्तिविशेषको नामभन्दा सम्बन्धित देशसँग उम्मेदवारको पूर्वसम्बन्ध, विश्वसनीय सम्पर्क, कूटनीतिक पहुँच तथा त्यहाँ प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाउनुपर्ने नीतिगत धारणा राखेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनले समेत राजदूतका आकांक्षीमध्ये केहीलाई प्रत्यक्ष भेटेर उनीहरूको अनुभव, क्षमता र सम्भावनाबारे थप जानकारी लिइरहेको बताइएको छ ।परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि नै राजदूत नियुक्तिमा पारदर्शिता कायम गर्ने र विवाद नउठ्ने पात्रलाई प्राथमिकता दिने धारणा राख्दै मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । सोहीअनुसार जेठ दोस्रो साता राजदूतका लागि खुला आवेदन आह्वान गरिएको थियो ।
मन्त्रालयका अनुसार आवेदन प्रक्रियामा करिब ४ हजार ४ सय जनाको सहभागिता रहेको थियो । त्यसमध्ये प्रारम्भिक छनोटबाट करिब २ हजार ७ सय नाम सूचीकृत गरिएको र त्यसबाट १४ देशमा राजनीतिक नियुक्ति तथा ७ देशमा परराष्ट्र सेवाका करिअर डिप्लोम्याटलाई राजदूतका रूपमा प्रस्ताव गरिएको जानकारी दिइएको छ ।
मन्त्री खनालले यसअघि सम्भावित उम्मेदवार छनोट गर्दा व्यावसायिक पृष्ठभूमि भएका तथा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकता दिइएको बताएका छन् ।
छिमेकी भारतका लागि निश्चलनाथ पाण्डेको नाम पहिलो प्राथमिकतामा रहेको बताइएको छ । पूर्वमुख्यसचिव शंकरदास वैरागी पनि सम्भावित सूचीमा रहेको स्रोतको दाबी छ । केही पूर्वसैनिक अधिकारीको नाम प्रारम्भिक छलफलमा आए पनि अन्तिम सूचीबाट हटाइएको बताइएको छ ।
पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई भारतका लागि पठाउने विषयमा समेत छलफल भए पनि सैन्य पृष्ठभूमिका कारण सम्बन्धित देशबाट प्रश्न उठ्न सक्ने आकलन गरिएको स्रोतको भनाइ छ । उनलाई बेलायतका लागि राजदूत बनाउने तयारी रहेको बताइएको छ ।
चीनका लागि फुदान विश्वविद्यालयसँग आबद्ध कल्याण शर्माको नाम चर्चामा छ । यद्यपि चिनियाँ पक्षले करिअर डिप्लोम्याटलाई प्राथमिकता दिन सक्ने संकेतका कारण परराष्ट्र सचिव अमृत राईको सम्भावनालाई समेत बलियो रूपमा हेरिएको स्रोतको दाबी छ ।
संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, अखिलेश उपाध्याय र कृष्ण ज्ञवालीको नाम अन्तिम सूचीमा रहेको बताइएको छ । थापाको नाम सार्वजनिक रूपमा धेरै चर्चामा नआए पनि पेशागत पृष्ठभूमिका आधारमा उनी सरकारी प्राथमिकतामा रहेको स्रोतको दाबी छ । पत्रकार उपाध्याय र पूर्वसचिव ज्ञवाली वैकल्पिक दाबेदारका रूपमा रहेको बताइएको छ ।
जापानका लागि जिज्ञन थापाको नाम करिब निश्चित भइसकेको स्रोतको भनाइ छ । जापानमा भाषा अनुवादकका रूपमा काम गरेको तथा त्यहाँका केही कम्पनीसँग आबद्ध रहेको अनुभवका आधारमा उनको नाम अघि सारिएको बताइएको छ । उनको नाम प्रधानमन्त्री वा रास्वपा पक्षबाट नभई सभामुख डिपी अर्यालको तर्फबाट आएको स्रोतको दाबी छ ।यसैगरी सरु जोशी, संगम श्रेष्ठ र चुडामणि खरेललगायतका नाम पनि राजदूतको सम्भावित सूचीमा रहेको बताइएको छ । वैदेशिक श्रम तथा रोजगार क्षेत्रमा अनुभव भएकी जोशीलाई नेपाली श्रमिकको ठूलो उपस्थिति रहेका कुनै देशमा पठाउने तयारी रहेको स्रोतको भनाइ छ ।
एआईटी थाइल्यान्डका डिन रहिसकेका संगम श्रेष्ठलाई मलेसिया, दक्षिण कोरिया वा बंगलादेशमध्ये कुनै एक देशमा पठाउने विषयमा छलफल भइरहेको बताइएको छ । आवेदन प्रक्रियामा सुरुमा सहभागी नभए पनि चुडामणि खरेलको नाम पछि छलफलमा आएको र उनलाई मलेसिया वा त्यस्तै मुलुकमा पठाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
वैदेशिक रोजगारसँग प्रत्यक्ष सम्बन्धित पश्चिम एसियाली मुलुकहरूमा भने परराष्ट्र सेवाकै करिअर डिप्लोम्याट पठाउने तयारी रहेको बताइएको छ । सरकारले यसअघि राजदूत भइसकेका व्यक्तिलाई पुनः राजदूत नबनाउने नीति लिएको जनाएको छ ।
सरकारले विगतमा भएका राजनीतिक नियुक्ति खारेज गर्दै विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ राजदूत नियुक्त गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिले अन्तिम सूचीमा देखिएको राजनीतिक तहको छलफल र नाम तथा देश परिवर्तनको अवस्थाले सरकारको घोषित प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने प्रश्नसमेत उठेको छ ।
परराष्ट्र स्रोतका अनुसार राजनीतिक सहमतिका क्रममा केही देशका लागि प्रस्तावित नाममा फेरबदल हुन सक्ने तथा अन्तिम रूपमा टुंगिएका भनिएका केही नामसमेत केही समय रोकिन सक्ने सम्भावना छ ।
राजदूतका आकांक्षीहरू राजनीतिक नेतृत्व तथा प्रभावशाली व्यक्तिहरूलाई भेट्न घरघरै धाउन थालेमा नियुक्ति प्रक्रिया प्रभावित हुन सक्ने र त्यसले सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रियामा समेत समस्या आउन सक्ने चिन्ता परराष्ट्रका केही अधिकारीहरूले व्यक्त गरेका छन् ।
यसअघि सरकार तथा दलहरूले सत्ता गठबन्धनका आधारमा राजदूत नियुक्तिमा भागबन्डा गर्ने परम्परा अन्त्य गर्ने दाबी गर्दै आएका थिए । तर अहिले विभिन्न तहबाट नाम सिफारिस हुने र राजनीतिक नेतृत्वबीच सहमतिको प्रयास चलिरहँदा नियुक्ति प्रक्रियामा राजनीतिक प्रभावको विषय फेरि चर्चामा आएको छ ।
परराष्ट्र मन्त्रालयले भने सार्वजनिक जीवनमा धेरै चर्चामा नआएका तर आफ्नो व्यावसायिक क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई अघि बढाएर कूटनीतिक क्षेत्रमा परिणाम निकाल्ने उद्देश्य रहेको जनाएको छ ।
सरकारले एक साताभित्र कम्तीमा आधा संख्याका राजदूतको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतको दाबी छ । सरकार गठन भएको करिब छ महिना पुग्न लाग्दा पनि राजदूत नियुक्ति हुन नसकेको भन्दै आलोचना बढिरहेका बेला मन्त्रालयले आफ्नोतर्फबाट प्रक्रिया पूरा गरी राजनीतिक सहमतिको प्रतीक्षा गरिरहेको छ ।
‘हामी सम्बन्धित देशमा कूटनीतिक एक्सेस बनाउन सक्ने र सम्बन्धलाई अझ माथि उठाउन सक्ने अनुहार नै लगेर जान्छौं । केही देशमा अझै सहमति बन्न बाँकी छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘तर ढिलै भए पनि राम्रो सूची तयार भएको छ ।’
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
२२ घण्टा अगाडि
900Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





